Breaking News

प्रियासीलाई पुर्व लडाकुको चिटठी

प्रकाशित मिति : २ पुष २०७५, सोमबार १३:१०

जो आज खाडी मुलुकमा छन्

प्रिय प्राण प्यारी,

असिम माया अनि मिठो सम्झना ल ……

खलखली पसिना आउने यो आगोको डल्लो झै मरुभूमिको बिचमा एउटा सानो कोठाको भुँईमा डस्ना बिछयाएर तिमीलाई यो मायाले भरिएको तर वेदनासहितको चिठी कोर्दै छु । चिठीमा जे सुकै लेखे पनि तिमी आत्मबल र धैर्यताले यो पढ्ने छौ र रुने छैनौ भन्ने विश्वासमा छु ।

विदेश जाने हतारोमा मैले सुहागरातमा तिमीलाई राम्ररी मुसार्न पनि पाईन, त्यसको पश्चातापले मलाई भित्र भित्रै यहाँको गर्मी भन्दा बढी पोलिरहेको छ । हुन पनि बाहिर छालामा पोलेकोले त एक छिन मात्र पोल्छ, बिस्तारै पछि बानी पर्दो रहेछ तर मनभित्र पोल्ने कुराले त जति जति समय बित्छ त्यति त्यति चर्को पीडा हुँदो रहेछ । के गर्नु नआई पनि त भएन, तिमिलाई बिहे गर्नु भन्दा अगाडिको मेरो वेदना त तिमीलाई थाहा नै छैन । तिम्रैै अगाडि भन्न नपाएपनि आज म तिमीलाई यो चिठी मार्फत भन्दै छु ।

म सानै देखि एक मेहेनती र लगनशील विद्यार्थी थिएँ । भर्खर भर्खर माओवादीहरु गाउँतिर पसेका थिए । उनीहरु साँझ साँझमा भेला गरेर हामीलाई प्रशिक्षण दिन्थे । देशमा गरिबहरुको सत्ता ल्याउन उनीहरु युद्ध गरिरहेका छौं भन्थे । भ्रष्ट, तस्कर तथा विदेशी दलालहरुलाई सिध्याउनका लागि र नेपाललाई विश्वकै नमुना देश बनाउनका लागि आफूहरु ज्यानको बाजी राखेर युद्धमा होमिएको भन्थे । हाम्रै गाउँमा पनि पञ्चायत देखि नै सोझा र गरीब जनताको रगत चुस्न पल्केकाहरुको बिगबिगी मैले आफ्नै आँखाले देखेको थिएँ । हामीलाई दोस्रो दर्जाको नागरिक बनाएर शासन गरेकाहरु हाम्रै समाजमा थिए । माओवादीहरुले हामीलाई बिभिन्न कार्यक्रमहरु देखाउन लग्थे । उनीहरुका भाषण र नाचगान हेर्दा म आफ्नो मुनीको धर्तिले जुरुक जुरुक उचालेको झैं महसुस गर्थे, त्यसैपनि किशोरावस्थामा उम्लिने रगत झन उम्लेर पोखिएला झै हुन्थ्यो ।

त्यसैबीच कक्षा ११ मा अध्ययन गर्दै–गर्दा २०५८ सालमा मेरो पल्लो गाउँको एक मिल्ने साथी र म एक दिन पढाई छोडेर भूमिगत हुने निर्णयमा पुग्यौं र २०५८ साल मंसिर २ गते हामी भूमिगत भई टिका ग्रहण गर्यौ, टिका ग्रहण कार्यक्रममा पाएको न्यानो र भव्य स्वागतले मलाई लागेको थियो कि मैले बुद्धत्व पाएँ, मलाई जीवनको एक उद्देश्य मिलेको थियो यो देशको मुहार फेर्ने । त्यसपछि हामी कस्सिएर युद्धको मोर्चामा लाग्यौ, माक्र्स, लेनिन, स्टालिन, माओका ठूला ठूला किताबहरु अध्ययन गर्दै गयौं । दिमागमा पुरै राष्ट्रियता मात्रै थियो ।

समय बित्दै गयो हामीले धेरै ठाउँमा सफलता हात पनि लगायौ केही ठाउँमा असफल पनि भयौ । सँगै हिड्ने कति साथीहरु सहिद भए, कति घाईते भए । तर भाग्यवश मलाई केही भएन । मैले भूमिगत अवस्थामा धेरै कुरा सिकेँ । हामी सामूहिकतामा बिश्वास गथ्र्यौ, दैनिकक रुपमा आवश्यक पर्ने सामान्य खाने खर्च बाहेक हामीलाई कुनै सम्पति वा पैसाको लोभ थिएन । भोलि सबै सामूहिक नै हुने हो हामीलाई छुट्टै सम्पति किन चाहियो भन्ने शिक्षा पाएका थियौं । हामीलाई सरकारी सेना जस्तो न त कुनै तलब थियो न त भविष्यको लागि कुनै पेन्सन ।

हामी सामुहिक रुपमा खेती गर्दथ्यौं र जनताहरुलाई पनि गर्न उक्साउथ्यौ, मलाई राम्ररी याद छ हामीले सामूहिक खेती गरेको एउटा बाँझो जग्गामा अचम्मले धान फलेको थियो । गाउँलेहरुले यति सम्म भनेका थिए की उनीहरुले कहिल्यै त्यस्तो अचम्मको धान फलेको देखेका थिएनन् रे । अहिले सोच्छु साँच्चै त्यस्तो व्यवस्था देशमा हुने हो भने त कोही किन दुःखी हुन्थ्यो होला । उक्त सामुहिक व्यवस्थाबाट मैले एक पाठ जरुर सिकेको छु की त्यो व्यवस्था सम्भव छ जो सायद माक्र्सले लेखे मात्र अनुभव गर्न पाएनन तर मैले गरेको छु ।

तमाम उतारचढाव र हण्डरकाबीच २०६३ सालमा पार्टीले संविधानसभाको बाटोबाट जाने भन्दै खुला राजनीतिमा आयो हामी पनि खुशी भयौं । नचाहँदा नचाहँदै बाध्यताले गरेको हतियार सहितको भुमिगत आन्दोलनले जुन स्तर लिएको थियो त्यसमा हामी गर्ब गर्दथ्यौं, युद्धले दिएको यो सफलताको श्रेय हामी सहिदहरुलाई दिन्थ्यौं ।

त्यसपछि म केही समयको लागि घर फर्के, घर त थिएन पहिले नै तत्कालीन शाही सेनाले आगो लगाईसकेको थियो । सानो छाप्रो बनाएर आमा बुवा र दुई भाई बहिनी गुजारा गरिरहेका थिए । आमा र बुवा बिरामी हुनुहन्थ्यो । मैले सबैलाई राजनीतिक परिवर्तनको बारेमा राम्ररी सम्झाएँ, उहाँहरुले मेरो काम प्रति सधैं गर्ब गर्नुहुन्थ्यो । त्यसपछि हामीलाई शिबिरमा राखियो । केही समयपछि सेना समायोजन गर्ने भनियो । हामीलाई समायोजनको लागि पुरानै सेनाको मापदण्ड अनुसार भर्ति गर्ने कुरा आयो ।

त्यसरी समायोजनमा जाँदा कतिको पढाई नपुग्ने, कतिको तौल नपुग्ने कतिको उचाई नपुग्ने । मेरो पनि पढाई नपुग्ने र उचाई पनि नपुग्न सक्ने थियो । त्यसैले मैले समायोजनमा नजाने निर्णय गरेँ । वरु बाहिर गएर खुला राजनीति गर्ने वा व्यवसाय गर्ने निधो गरें । म ५ लाख बुझेर बाहिर निस्किएँ । घरमा जाँदा आमा र बुवा दुबै बिरामी हुनुहुन्थ्यो । घर पुग्ने बित्तिकै घरखर्चको लागि लगेको ऋण तिर्नु पर्ने भयो, १ लाख जति ऋण तिरियो ।

आमालाई अलि बढी नै बिरामले च्यापेको थियो, गाउँघरमा राम्रो अस्पताल नभएकाले मैले नेपालगन्ज अस्पताल लगें । १ महिना त्यहाँ राख्दा पनि ठिक भएन । त्यसपछि केही साथीभाईको पहलमा काठमाडौ लगियो । टिचिङग अस्पताल, वीर अस्पताल, नर्भिक आदि सबै तिर लगियो । अन्तिम चरणमा पुगेको आमाको दमको उपचार राम्ररी निको हुन सकेन । अन्ततः घर फर्किएँ । त्यसको २ महिनामा आमा बित्नु भयो । आमाको मृत्युपछि बुवा थला पर्नुभयो । बुवालाई पनि काठमाडौ सम्म पुर्‍याएँ । तर केहि सिप लागेन आमाले छोडेको ६ महिनामा बुवाले पनि हामीलाई छोडेर जानुभयो ।

शिविरबाट निस्कदा ल्याएको पैसा पनि सबै आमा बुवाको उपचारमै सकियो । भाई बहिनीहरुको बिचल्ली हुने भयो भनेर म धेरै चिन्तित भएँ । मैले सोचे अब कस्सिएर खुला राजनीति गर्छु । जिल्लाका नेताहरुसँग भेट्ने धेरै प्रयास गरे कोहीसँग हुन सकेन । कोही सभासद थिए कोही ठूला व्यापारी भइसकेका थिए त कोही काठमाडौ तिर लापत्ता । अर्कै पार्टीबाट प्रवेश गरेका एक भ्रष्ट व्यक्ति जिल्ला इन्चार्ज थिए ।

क्रमशः ….

प्रकाशित मिति : २ पुष २०७५, सोमबार १३:१०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,