Breaking News

मानवअधिकारवादी, पहिचानवादी र वामपन्थी प्रगतिशिल आन्दोलनका इतिहास बनेका तुलाधरको उपचारको क्रममा निधन

कात्तिक १८, काठमाडौं / तत्कालीन माओवादीको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डको तस्वीर सार्वजनिक हुनुभन्दा पहिलाʻप्रचण्डʼ एउटा मिथक थियो । देशमा उथलपुथल ल्याउने माओवादी जनयुद्धको नेतृत्वकर्ता को हो भन्ने तमाम आशंका थिए । कसैले राजा ज्ञानेन्द्रलाई नै ʻप्रचण्डʼभन्ने त कसैले पद्मरत्न तुलाधरलाई ।

२०६२ सालमा भारतीय टेलिभिजन जी न्यूजले ओसामा विन लादेन भन्दा सर्वाधिक खोजिएका व्यक्ति प्रचण्ड भनेर पद्मरत्नको फोटो सार्वजनिक गरेको थियो । विदेशका केही पत्रिकाले पनि प्रचण्ड भन्दै पद्मरत्नको तस्वीर प्रकाशन गरेका थिए ।

वामपन्थी प्रगतिशिल आन्दोलनका इतिहास बनेका पद्मरत्न तुलाधरको उपचारको क्रममा ७८ बर्षको उमेरमा आइतवार काठमाडौंमा निधन भयो । मानवअधिकारवादी, पहिचानवादीको छवी बनाएका पद्मरत्नलाई नै विद्रोही नेकपा माओवादीका अध्यक्ष प्रचण्ड ठानेर सुरक्षाकर्मी र राज्यका सुराकीहरु पद्मरत्नको घर वरपर घुम्थे ।

मानव अधिकारकर्मीको नाताले पद्मरत्नले तत्कालीन विद्रोही माओवादीलाई शान्ति वार्तामा ल्याउन पहल गरेका थिए ।

माओवादी कार्यकर्तामाथि आक्रमण हुँदा बोल्ने गरेका कारण पद्मरत्नलाई कतिपयले ʻमाओवादी मानवअधिकारवादीʼको विल्ला समेत भिराए । पञ्चायतदेखि नै बिद्रोही स्वभावका पद्मरत्नले माओवादीलाई सहयोग गरिरहेको भन्ने राज्यको आरोप थियो ।

जनयुद्ध शुरु भएको केही वर्षपछि नै प्रचण्डले पद्मरत्नलाई फोन गरिरहन्थे । संकटकालको समयमा पनि ‘प्रचण्ड’ पद्मरत्नलाई भेटन पुगेका थिए । तर, त्यति बेलासम्म प्रचण्डलाई कसैले र नचिनेका कारण उनी सहजै त्यहाँबाट बाहिरिए ।

माओवादीलाई वार्ताको टेबलमा ल्याउने क्रममा पद्मरत्नले दिल्ली र लखनउको यात्रा गरे । दमननाथ ढुङ्गानालाई साथ लिएर पद्मरत्न प्रचण्डलाई भेट्न दिल्लीसमेत पुगेका थिए । त्यसपछि माओवादी र सरकारबीच वार्ताको प्रकृया शुरु भएको थियो ।

वार्ता प्रकृयामा महत्त्वपूर्ण भूमिका

सरकार माओवादी शान्ति वार्तामा माओवादीको तर्फबाट वार्ता टोलीका सदस्य समेत रहेका नेकपा संसदीय दलका सचेतक देव गुरुङ राज्य र बिद्रोहीबीच विश्वासको वातावरण बनाउनुमा पद्मरत्नको भूमिका उल्लेखनीय रहेको बताउँछन् ।

ʻशान्ति प्रक्रियामा उहाँको महत्त्वपूर्ण र सकारात्मक योगदान रह्यो, माओवादीले उठाएका एजेण्डाप्रति समेत उहाँ सकारात्मक हुनुहुन्थ्यो । वार्ता सहमति र सहकार्यबाट जानु पर्छ भन्ने सुझाव थियोʼ गुरुङले लोकान्तरसँग भने, ʻसहजीकरण गर्ने प्रक्रियामा विश्वासको वातावरण बनाउन लाग्नुभयो । शुरुका चरणहरु सफल हुनेमा उहाँको अविस्मरणीय भूमिका रहेको छ ।ʼ

सरकार र माओवादीबीच शान्ति वार्ता टुट्नै लाग्दा पद्मरत्नले विशेष पहल गर्ने गरेको नेता गुरुले बताए ।

सूर्य चुनाव चिह्न नेकपालाई पद्मरत्नको नासो

पद्मरत्न तुलाधरसँग मेरा तीन स्मरण छन् । त्यतिखेर छलफल भन्ने साप्ताहिक पत्रिका छाप्थ्यौं । काठमाडौंको असननिर छापाखाना थियो । २०३८ सालको कुरा हो । पद्मरत्नको अभिवाकत्वमा हामीले छलफल पत्रिका निकाल्यौं । उहाँ नभएको भए शायद पत्रिका नै निस्किने थिएन । पटक–पटक दर्ता खारेजी भएपनि बहुदलको मिसनका लागि पत्रिका प्रकाशित गर्न छाडेनौं । पञ्चायत कालमा पत्रकारिता भनेकै ʻमिसन जर्नालिजमʼ थियो ।

जनपक्षीय उम्मेदवारीमा उहाँलाई जिताउन ठूलो लडाइँ लड्नुपर्‍यो । उहाँबाहेक अरु कसैले जित्न नसक्ने जति रहर गरे पनि । उहाँ त मान्नु भयो, तर उहाँ वरिपरिका मानिसले मान्दै मानेनन् । त्यतिबेला म पार्टीका तर्फबाट काठमाडौं उपत्यकाको इन्चार्ज थिएँ । धेरै पटक उहाँसँग बसेर लामो कुरा गरेपछि उम्मेदवारी टुंगो लाग्यो ।

पञ्चायत फाल्ने प्रक्रिया शुरू गरौं यहीँबाट भनेर राष्ट्रिय पञ्चायतको चुनावमा ६० जनाजति उम्मेदवार उठाएका थियौं । पद्मरत्न लगायत पाँच जनाले चुनाव जित्नुभयो । दाइ उठदिनुपर्‍यो भनेर आग्रह गरियो ।

पद्मरत्नले चुनाव जितेपछि काठमाडौं उपत्यकामा नेकपाको प्रभाव प्रभाव पर्‍यो । नोबल केमी राई, झापाबाट द्रोणाचार्य क्षेत्री, चितवनबाट जागृत भेटवाल हुनुहुनथ्यो । पद्मरत्न नेपाः भाषा मंका खलको पनि अध्यक्ष भएकोले उहाँ भए सहज चुनाव जित्न सकिने धेरै भोटर खलःसँग र गुठीसँग जोडिएका थिए । त्यसैले उहाँलाई आग्रह गरेँ । उहाँले मान्नु भयो ।

उम्मेदवार उठेपछि चिह्न सरकारले दिने चलन थियो । उहाँलाई सूर्य चुनाव चिह्न पर्‍यो । चुनाव जित्नु भयो । पञ्चायतमा गएर लड्नु भयो । राष्ट्रिय पञ्चायतमा गएर बहुदलको नारा लगाउनु भयो ।

बहुदलीय व्यवस्था स्थापना भएपछि हाम्रो हालत कमजोर थियो । दाइले म अरु चिह्नमा लड्दिन सूर्य चिह्नमा लड्छु भन्नुभयो । पार्टी महासचिव मदन भण्डारीलाई भनियो हँसिया हथौडाबाट चुनाव लड्दा तपाईं जित्नुहुन्छ, अरुलाई नउठाए पनि हुन्छ । पद्मरत्नजीलाई उठाउने हो भने सूर्य चिह्न लिनुपर्छ, भन्यौं । मदन भण्डारीले हुन्छ, काम ठूलो कुरा हो भन्नुभयो ।

पद्मरत्नले चुनाव जितेको सूर्य चिह्न पछि आएर नेकपा एमालेको चुनाव चिह्न भयो । हुन त हँसिया हतौडालाई चुनाव चिह्न बनाउने कुरा पनि थियो, तर हामी त्यस्तो जड थिएनौं । त्यो जडताबाट मुक्त भएको थियौं । राम्रो चिह्न चाहिन्छ, आकर्षक हुनुपर्छ भन्ने थियो । केही साथीहरूले हँसिया हथौडा नै हुनुपर्छ भन्ने पनि थिए ।

अरुले पनि सूर्य लिन्छु भनेपछि, मलाई लाग्यो उपत्यकामा सबैले सूर्य लिनुपर्छ । नभन्दै हामीले काठमाडौंमा एउटा बाहेक सबै क्षेत्रमा चुनाव जित्यौं । १ र ५ मा मदन भण्डारीले चुनाव जित्नुभयो । सूर्य चिह्नको उपहार नेकपाका लागि नासो भयो ।

२०५१ सालको सरकारका हामी दुवै मन्त्री थियौं, म सञ्चार र उहाँ स्वास्थ्य । मन्त्रीबाट हटेपछि उहाँ राजनीतिबाट अलि निष्क्रिय र नागरिक अधिकारको क्षेत्रमा लाग्नु भयो । त्यसपछि हाम्रो सम्बन्ध हाई हेल्लो मात्र भयो ।

मन्त्री हुँदाको समयमा एकपटक पद्मरत्नले गाई काटेर खान पाउनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो । त्यसले पार्टीलाई निकै अप्ठ्यारो पारेको थियो ।

(नेकपाका नेता पूर्वमन्त्री प्रदीप नेपालसँग गरिएको टेलिफोन कुराकानीमा आधारित)

lokaantar

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १७:५६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,