Breaking News

गीत–संगीत त मेरो लागि नसा जस्तै भइसक्यो

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १४:००

नेपाली गीतसँगै तामाङ सेलो, तामाङ व्हाई अनि ताम्बा, डाम्फुरे गीत जस्ता गायन क्षेत्रमा एक लोकप्रिय गायक तथा संगीतकार हुन्, टेक बहादुर घिसिङ । गायक तथा संगीतकार घिसिङको जन्म आप्पा पहलमान घिसिङ तामाङ र आमा पाल्मो मोक्तान तामाङको कोखाबाट २०३९ सालमा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं. ५ (साविकको गुन्सी भदौरे)स्थित गान्छ (गुन्साल)मा भएको हो । जन्मभूमि रामेछाप भए पनि राजधानीलाई कर्मभूमि बनाई गीत–संगीतको क्षेत्रमा अनवरत रुपमा लागिरहेको घिसिङले चलचित्रको गीतहरुमा स्वरसँगै संगीत पनि दिइसकेका छन् । सानैदेखि गीत–संगीतमा रुची भएको बताउने घिसिङको गीत–संगीतको यात्रा भने २०५८ सालदेखि औपाचरिक रुपमा शुरु भएको हुन् । उनी नेपाल तामाङ घेदुङ अन्तर्गतको नेपाल ताम्बा संघ घेदुङको सचिव पनि हुन् । प्रस्तुत छ, उनै गायक तथा संगीतकार घिसिङसँग इकमान लामाले गरिएको कुराकानीः

नयाँ केही आउँदै छ कि ?
तत्काल केही सेलो र फापरे गीतसंगै भिडियोहरु आउँदैछन् । अनि साथीहरु बुद्ध बम्जनका साथै ताम्बा संघसंग मिलेर मेरा गाउँघरमा ताम्बाद्धारा संरक्षित भाकालाई रेकर्डको तयारीमा छु ।
गीत–संगितको यात्रा कहिलेदेखि शुरु गर्नु भएको हो नि ?
सानै देखि चाहना भए पनि औपचारिक रुपमा सिक्न थालेको २०५८ सालबाट र रेकर्ड चाहिँ पहिलो पटक २०५९ सालमा भएको थियो ।
के सोचले यो क्षेत्रमा आउनुभयो ?
सुरुमा त रेडियो, क्यासेट सनेर नै हो । मेरो जेठोदाई रेडियो, क्यासेटको पारखी हुनुहुन्थ्यो । जसमा चन्द्र कुमार मोक्तान  र मान बहादुर दोङ आस्याङ्को गीतहरु नै बढी सुन्थे, पछि विभिन्न विचारबाट प्रभावित हुँदै गयो । विशेष गरी प्रगतिशील धारका गीत हुँदै सबै खाले गीतहरु सुन्न, गाउँन र सिक्न थाले । शुरुमा त नाम, चर्चा र मनोरञ्जनको रहर हुदोरहेछ, तर अग्रजहरुले अत्यन्तै गहन र साधनाको बिषय हो यो भन्ने सुनेपछि कस्तो चाहिँ रहेछ त भनेर अझ बुझ्न मन लगेर संगीत सिक्न थाले र यो क्षेत्रमा आए ।
कसको प्रेरणाबाट गायन तथा संगीत क्षेत्रमा लाग्नुभयो ?
यही भन्ने छैन । मैले जिन्दगीको र भविष्यको बारेमा नसोच्दै गीत संगीतप्रति एकोहोरो भैसकेछु । त्यसैले गीत–संगीत र पढाई त मेरो लागि नसा जस्तै थियो भने अन्य कुराहरुमा खासै रुचि थिएन ।
सांगेतिक क्षेत्रमा आउनु अघि तपाईलाई अरु केही भन्ने लक्ष्य थियो होला नि ?
बाँच्ने पनि दुई किसिमको हुदाँ रहेछन्, एउटा आवश्यकता पुरा गरेर र अर्काे इच्छा पुरा गरेर । ठ्याक्कै भन्नु पर्दा निश्चित लक्ष्य चाँहि थिएन ।
कलकारीताबाट कलाकार बाँच्न सक्छन् ?
राम्रोसँग सिकेर जानेर आयो भने कलाकारिताबाट बाँच्न सकिन्छ । तर यो कुरा धेरैमा लागु नहुन सक्छ, किनकि अहिले आएर गीत–संगीतको बजार र रोयल्टीबाट कमाएर बाच्न सक्ने सम्भावना हाम्रो जस्तो सानो र थोरै जनसंख्याको र अझ भन्ने हो एउटै भाषिको जनसंख्या कम भएको देशमा यो अलि गह्रौ नै देखिन्छ ।
संगीतको ज्ञान हुनेहरु सिडी बिक्रि, युट्युब रोयल्टीमा मात्र भर नपरी विभिन्न क्लब, होटल तथा रेस्टुरेन्ट र कन्सर्टहरुमा गाउने, बजाउने, कोही स्कुलहरुमा पढाउने गरेर बाँचिरहेका छन् । एक समय म पनि त्यस्तै गर्थे । अर्काे नाम र दाम मालामाल कमाएर इच्छामा बाँच्ने भनेको झन्डै अपवाद जस्तै हो, जो निकै नै कम छन् ।
अबको दिनमा गीत संगीतलाई माथि उठाउन के गर्नु पर्छ ?
गीत–संगीतलाई माथि उठाउन जरुरी छैन भन्छु म, किनकी गीत–संगीत आफैँमा धेरै माथि छ । जरुरी चाहिँ यो कि स्रष्टा सर्जकहरुले राम्रो सृजना पस्किनु र सुन्ने स्रोताहरुले राम्रो सृजना सुन्नु र अनुमोदन गर्नु हो । राम्रो सृजना भन्नाले सकारात्मक उर्जा र बौद्धिक विकास गर्न सघाउने सृजना हो । जसको गीत–संगीतको सिधा सम्बन्ध मान्छेको मन र बुद्धिसँग हुने रहेछ । त्यसैले त राजनिति, धर्मसस्कार र प्रेम गर्नेहरुले संगीतको सहारा लिएर आ–आफ्नो विचारहरु व्यक्त गरिरहेका हुन्छन् । भौतिक विकासका लागि बौद्धिक विकास र बौद्धिक विकासका लागि त्यस्तै खालका गीत–संगीतको सृजना आवश्यकता छ । सृजना भनेर काहिँ कतै नभएको आफैले सृजना गर्नु होइन । मेरो विचारमा जीवन जगतमै भएका कुराहरुको खोज, अध्ययन तथा अनुसन्धान नै हो ।
घरमा हुदाँ परिवारलाई भान्छामा कत्तिको सहयोग गर्नु हुन्छ ?
भान्छामा कोही छन् भने सघाउन मन लाग्छ, किनकी मिलेर खाना बनाउन मलाई धेरै रमाइलो लाग्छ । प्रायः खाना म आफैँ बनाएर खाने गर्छु, किन भने अहिले म एक्लै बस्छु हा हा …. । फेरी बाहिर होटेल रेस्टुरेन्टको खाना स्वस्थकर पनि लाग्दैन ।
यो क्षेत्रमा आउने चाहाने नयाँ भाई बहिनीलाई के सुझाव दिनु हुन्छ ?
यो क्षेत्रमा आउन चाहने भाइ बहिनीहरुले जसरी हाम्रो समाजमा पछि ठुलो भएर के बन्छौ भन्दा, धेरै मिहिनेतका साथ पढेर डाक्टर, इन्जिनियर बन्छु भन्छन् । त्यस्तै यो क्षेत्रमा पनि त्यस खालको मेहिनेत गर्नुपर्ने क्षेत्र हो । अबको दिनमा झन्झन् बढी प्रतिस्पर्धा गर्दै अघि बढ्नु पर्ने हुन्छ । त्यसैले सिकेर, जानेर आउनै पर्छ ।
अन्त्यमा यहाँको केही भन्नु छ कि ?
गीत–संगीतका स्रोता पारखीहरुलाई गीत–संगीत पनि छानेर बुझेर सुन्न अनुरोध गर्न चहान्छु । यसले आफ्ना भावी पुस्तालाई पनि बानी सस्कार बसाउने तर्फ ध्यान दिदै विश्वव्यापीकरणको यो युगमा सांस्कृतिक उपनिवेशको चपेटामा परी हाम्रो भाषा, धर्म, संस्कार र हाम्रै दर्शन लोप हुनबाट बचाउन नपत्याउने तर ठुलो टेवा पुग्थ्यो । यसरी आफ्नो विचार राख्ने क्रममा केही कुरा गल्ती भए माफी माग्दै यो सुनौलो अवसर प्रदान गरि दिनु भएको धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १४:००

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,