Breaking News

तेलमात्रै होइन, साउदी अरबको अथाह शक्तिको स्रोत अर्कै छ

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १४:२८

इरान, साउदी अरेबिया र अमेरिकाको त्रिपक्षीय सम्बन्धबाट इरान हटेपछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध भने उस्तै छ । उनीहरूले इरानमाथि दबाब दिएको छन् ।

साउदी अरबले स्थापना कालदेखि नै बहावी विचारधारा मान्दै आएको छ । बहावहरूलाई क्रिप्टो–जिउज पनि भनिन्छ अर्कोतिरबाट ।

यहाँ कुरा आइहाल्यो, यसमा एउटा कुरा जोडिहालौँ । संसारको सबैभन्दा शक्तिशाली संस्थामा धेरैले अमेरिकाको रक्षा मन्त्रालय बताउन् । मन्त्रालय रहेको भवनलाई पेन्टागन भनिने भएकाले यसलाई पेन्टागन मात्रै पनि भनिन्छ । पेन्टागन अर्थात् पञ्चभुज ।

तर मेरो भने संसारलाई नियन्त्रण गर्ने आफ्नै पेन्टागन छ । मेरो पेन्टागनको एउटा कोण साउदी अरबको रियाद, अर्को इजरायलको जेरुसेलम, त्यस्तै रोमको भ्याटिकन । अनि बाँकी दुइटामा लन्डन भयो, जसले संसारको फाइनान्स नियन्त्रण गर्छ र अन्तिम बासिङ्टन डीसी, जसले संसारको सेना नियन्त्रण गर्छ । यी पाँचवटा बीचमा राम्रो गठजोड छ ।

अब यी संसार नियन्त्रण गर्ने पेन्टागनका सबै बिन्दु इरानविरुद्ध छन् । इरानलाई यिनले आफूपरस्त राज्य प्रणाली बनाए भने के हुन्छ त ? सबैभन्दा पहिलो भनेको क्यास्पियन सागर माथिको पहुँच हो ।

क्यास्पियन सागरमा पुग्ने हो भने पूरै युरेसिया क्षेत्रको स्रोतमाथि पहुँच पुग्छ ।

क्यास्पियन सागरसँग जोडिएका भू–भाग किन महत्वपूर्ण छन् भने यिनीहरू एक त तेलका धनी छँदै छन्, अर्को कजाखस्तानमा युरेनियम र ‘रेयर अर्थ’ भन्ने प्राकृतिक स्रोत पाइन्छ । रेयर अर्थमा धेरै थरी तत्व पर्छन्, त्यसमध्ये टेन्ट्यालम पनि एउटा हो । टेन्ट्यालम कति महत्वपूर्ण हुन्छ भने त्योविना कुनै पनि आणविक अस्त्र र आणविक ऊर्जाको संयन्त्रै बन्न सक्दैन । त्यो पनि त्यहीँ पाइन्छ ।

अर्को के छ भने युरोपले उपभोग गर्ने ग्यास र तेलको पाइप कजाकस्तानबाट सुरु हुन्छ । नक्सा हेर्नुस् त कजाकस्तान र तुर्किमिनेस्तान त भूपरिवेष्ठित राष्ट्र हुनुपर्ने होइन ? भन्नु होला क्यास्पियन सागरसँग छोएकाले भूपरिवेष्ठित नभएको भनेर तर त्यस कारणले मात्र होइन । क्यास्मियन सागर नै जमिनले घेरिएकाले त्यहाँ चल्ने जहाज त्यहीँ मात्रै सीमित हुन्छन् ।

क्यास्पियन–दोन–क्याश्पियन सागर

खासमा के हो भने क्यास्पियन सागरमा भोल्गा भन्ने नदी मिसिन्छ । भोल्गा हुँदै पानी जहाज चल्छन् र त्यहाँ हुँदै भोल्दोगार्ड भन्ने ठाउँ दोन भोल्गा लिङ्क क्यानल छ । त्यहाँबाट जहाज दोन नदीतिर जान्छ । अब दोन नदी फेरि कृष्ण सागरमा पुग्छ ।

अब कृष्ण सागरमा आइपुगेको जहाज बोस्फोरस स्ट्रेट हुँदै भूमध्यसागरमा पुग्न सकिहाल्छ ।

स्रोतसाधन भएकाले अमेरिकाले पनि त्यहाँ आफ्नो उपस्थिति जनाउन खोज्यो । अफगानिस्तानबाट खोजेको थियो तर त्यहाँबाट उसलाई पर्याप्त भएन ।

त्यसैले त्यो हिस्सामा प्रवेश गर्नका लागि इरान अपरिहार्य छ ।

अर्को कुरा पनि छ, पश्चिमाहरूले मध्यपूर्व भन्ने गरेको स्थानमा इरानमात्र शिया बहुल राष्ट्र हो । बाँकी भने सुन्नी हुन् ।

उसको अलग पहिचान छ, यसले गर्दा केही न केही फरक पहिलेदेखि थियो ।

किन बलियो भयो त साउदी अरेबिया ? 
संसारको सभ्यता दुई भागमा विभाजित छ : एउटालाई हामी अब्राहमिक सभ्यता भन्छौँ अर्कोलाई ओम परिवार भन्छौँ ।

अब ओम सभ्यता भन्नाले जापानदेखि यता हिन्दुसम्म भयो ।

अब्रामिक सभ्यतालाई चाहिँ तीनवटा स्थानले नियन्त्रण गर्छ । यसमध्य एउटा हो इजरायलको जेरुसेलम । यो यहुदीहरूको केन्द्र हो ।

 

अब्राहमिक धर्म

अर्कोमा भ्याटिकन आउँछ । भ्याटिकन हाम्रोतिरको वडा जत्रो छ, रोमको एउटा हिस्सा न हो तर उसले पनि संसार नियन्त्रण गरिररहेको छ । किन भन्नु हुन्छ ? ऊ संसारको सबैभन्दा ठूलो धर्म सम्प्रदायको केन्द्र हो, त्यसैले ।

तेस्रो भनेको साउदीमा छ । मुसलमानहरूको केन्द्र मक्का र मदिन त्यहीँ छ । तेल त अरूसँग पनि छ नि । तर तेलभन्दा पनि बलियो उसका यी दुर्ई सहर हुन् । अब भोलि मुसलमानविरुद्ध केही भए संसारभरीका मुसलमान मक्का र मदिनका लागि लड्न तयार छन् । अब प्रत्येक दिन संसारभरका मुस्लिमहरू दिनमा पाँच पटक मक्कातर्फ फर्केर प्रर्थना नै गर्छन् ।

यही कुराले साउदीलाई बल दिएको छ ।

मेरो विचारमा नेपालको संविधानमा लेखिएको एउटा शब्दले नेपालमा पनि एउटा शभ्यताको केन्द्र बन्न सक्ने सम्भावनाको अन्त्य भएको छ । भारतमा त्यो सम्भावना मुस्लिम र अंगे्रहरुको नियन्त्रणले गुमेको थियो अब नेपाललाई थियो तर धर्मनिरपेक्ष शब्दले त्यो सम्भावनाको अन्त्य भएको छ ।

दक्षिण एसियामा इन्धनले निम्त्याउन सक्ने खतरा 
भविष्यको ऊर्जाको हिसाबले सबैभन्दा असुरक्षित क्षेत्र हो– दक्षिण एसिया । भविष्यको ऊर्जा कसरी सुरक्षित गर्ने भन्ने दिशातिर हाम्रो नीति अघि बढिरहेको छैन । भविष्यको ऊर्जाको मुख्य स्रोत भनेको एलपीजी हुनेवाला छ । त्यो ऊर्जाको स्रोतका लागि अहिले नै धेरैतिर द्वन्द्व सुरु भइसकेका छन् ।

भारत र चीनले ६०% भन्दा बढी बिजुलीको उत्पादन कोइलाबाट गर्छन् । जबकि अमेरिकाले आफ्नो ऊर्जाको झण्डै आधा अर्थात ४६% ऊर्जा प्राकृतिक ग्यासबाट उत्पादन गर्न थालिसक्यो । युरोपेली युनियन पनि प्राकृतिक ग्यासमा गइसके ।

विश्वको विजुली उत्पादनका विभिन्न विधिहरु

 

कुन विधिले विजुली निकाल्दा कति कार्वन उत्सर्जित हुन्छ 

केही बेलायतले एउटा उत्साव नै मनायो । त्यस दिन कोइलाबाट उत्पादन चाहिँ शून्य भयो रे । धेरै देशहरू ग्यासमा गइसके ।

भारत पनि कम मूल्य पर्ने पनि भएकाले प्राकृतिक ग्यासमा जाने तरखरमा छ ।

अत्यधिक अन्तरमुखी भएकाले आलोचकहरूले ‘मौन’मोहन सिंह भन्ने गरिएका मोनमोहन सिंहको पालामा त त्यस्तो केही भएन । तर मोदी आएपछि यस कुरालाई सम्बोधन गर्न तीन परियोजना अघि बढेका छन् ।

पहिलो सी जिनपिङ र पुटिनको भेटमा, उनले रुसले चीन र जापानका लागि पूर्वतिर ल्याउन लागेको पाइपलाइनलाई आफूहरूतिर पनि ल्याउनुपर्ने प्रस्ताव गरेका छन् । यो पाइपलाइन हाल बेइजिङको मास्तिर यल्लो रिभरको हार्वे नजिक आइसकेको छ । चाइना आफूलाई एलपीजीमा सुरक्षित गर्न धेरै अघि बढिसकेको छ ।

अझै पनि चीन र भारतको बिजुली उत्पादनको दर हेर्नुभयो भने दुईको लगभग ४% बिजुली मात्र प्राकृतिक ग्यासबाट निर्माण हुने गरेको छ । माथि भनेझैँ ६०% बिजुली अझै उनीहरू कोइलाबाट नै बनाइरहेका छन् । त्यो भनेको खतराको स्थिति हो, वातावरणीय हिसाबले पनि र आर्थिक रूपले पनि ।

चीनको जनसङ्ख्या भनेको त साउथ चाइन र इस्ट चाइनातर्फ केन्द्रित छ । उसले रुसबाट ल्याउने पाइपलाइन पनि त्यही दिशातर्फ फर्काएको छ । भारतले त्यही पाइपलाइन आफूहरूतिर पनि ल्याउन प्रस्ताव गरेको छ । यो भयो पहिलो विकल्प ।

अर्को टापी भन्ने परियोजना छ । तुर्केमिनिस्तानबाट अफगानिस्तान र पाकिस्तानको बाटो हँुदै भारत ग्यास ल्याउने परियोजना हो टापी । यो त सुरु नै भइसकेको थियो ।

टापी र आईपीआई

यसले मात्र पुग्दै भनेर अर्को योजनामा पनि उनीहरू काम गरिरहेका छन्– आईपीआई नामको योजनामा । आईपीआई भनेको चाहिँ इरानबाट पाकिस्तान अनि त्यहाँबाट भारत ल्याउने । टापी र आईपीआईको पाइप फेरि पाकिस्तानको मुल्तानमा जोड्ने पूर्वयोजना थियो ।

तर नवाज सरिफको विस्थापन भएपछि यी परियोजनामा शङ्का उत्पान्न भएको छ । त्यही कारणले मोदीले हतारमा इरानमा गएर एक सम्झौता गरे । स्ट्रेट अफ हरमुजको डिप सीबाटै पाइपलाइन भारत ल्याउने भन्ने कुरा छ त्यसमा  ।

यो दुइटा कुरामा जब मोदी र नवाज सरिफको सहमति भयो । त्यहीँबाट नवाजको दूरदिन सुरु भएको हो । यही घटनामा पनि ऊर्जा र सत्ताबीचको सङ्घर्ष देखिन्छ ।

हरमुजमा इरानको हेजेमोनी स्थापित भएपछि उसका विरोधीहरूले पनि आफ्नो कदम त चाल्नु प¥यो । साउदी अरबले पनि एक दुई कदम त चालिसकेको छ ।

उसले आफ्नो पूर्वी तटमा उत्पादन हुने पेट्रोलियम पदार्थहरू पाइपलाइनमार्फत एल्बो बन्दरगाहमा लगेर उतार्छ । अर्को चाहिँ ठ्याक्कै इरानको सहयात्री सिरियालाई बाइपास गरेर जोर्डनबाट पाइपलाइन छिराएर त्यहाँको सिडान बन्दरगाहमा निकालेको छ ।

यसरी साउदी अरबले दुई ठाउँबाट इरान र उसका पार्टहरूलाई बाइपास गरेको छ । तर ती बाइपासबाट उसको तेलको व्यापारको १५% हिस्सा मात्र ओगट्छ ।

त्यस्तै यूएईले पनि त्यो क्षेत्र बाइपास गरेर पाइपलाइन हिन्द महासागरमा जोडेको छ । उनीहरू पनि चुप लागेर बस्ने कुरा भएन ।

जबसम्म इरानको शासन बदलिएर अमेरिका परस्त हुँदैन तबसम्म यो जारी रहन्छ । त्यसको लागि पश्चिमाहरूले प्रयास पनि गरिरहेका छन्, समय समयमा त्यहाँ सरकारविरुद्ध नाराबाजी भइरहेको छ । तर रुसलाई भने जसरी पनि इरानको सरकार टिकाउनुपर्ने अवस्था छ ।

यो बीचमा सबैभन्दा बढी चेपुवामा भने भारत परेको छ । भारतलाई अमेरिकाबाट बारम्बार इरानसँग सम्बन्ध तोड, साउदी र यूएईसँग सम्बन्ध राम्रो बना भन्ने दबाब परिरहेको छ । केहीअघि अमेरिकी दूत निक्की हले भारत आइन्, यही भनेर मोदीलाई हप्काइन् । फेरि बेन्जामिन नेतान्याहु आए उनलाई यही भनेर गाली गरे । मलाई उनीहरूले मोदीलाई सन् २०१९ को चुनावमा यति सजिलै छोड्छन् भन्ने लाग्दैन ।

अब हेर्नुस् भारतलाई कति गाह्रो छ । अब केहीअघि बर्मामा उसले तेल र ग्यास ल्याउने भनेर सम्झौता ग¥यो । अब त्यहाँ पनि रोहिङ्ग्या समस्या भयो । चीनले पनि त्यहाँबाट तेल र ग्यास लानका लागि सम्झौता गरेको थियो । उसलाई पनि रोहिङ्ग्या समस्याले अफ्ठ्यारो भएको छ । यही कारणले रोहिङ्ग्या मुद्दामा चीन र भारतको समान धारणा आएको हो । ratopati

अरुण कुमार सुवेदी

सुवेदी भूराजनीतिक विश्लेषक हुन् । 

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १४:२८

सामाजिक संजाल

Our Team

प्रधान सम्पादक – इकमान लामा (इमाला)
प्रकाशक/सम्पादक – विवेक लोप्चन

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक कार्यक्रम प्रस्तोता – एम डि लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,