Breaking News

साउन ३१, काठमाडौं । ०५२ देखि ०६२ सम्मको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजारभन्दा बढी नेपालीको ज्यान गए पनि दुई हत्याकाण्ड, जसले तत्कालीन विद्रोही माओवादी र राज्य पक्षलाई अप्ठेरोमा पारे । माओवादीले गरेको बाँदरमुढे हत्याकाण्ड र राज्यले गरेको दोरम्बा हत्याकाण्ड पटक–पटक बल्झिने युद्धका घाउ हुन् । यद्यपि यस्ता सयौं हत्याकाण्ड विस्मृतिमा पुगिसकेका छैनन् ।

यसैक्रममा ०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको थियो । सरकारी वार्ता टोलीको नेतृत्व डा.प्रकाशचन्द्र लोहनीले गरेका थिए भने माओवादी वार्ता टोलीको नेतृत्व डा.बाबुराम भट्टराईले गरेका थिए । हापुरेमा वार्ता चलिरहेकै बेला खबर फैलियो– रामेछापको दोरम्बामा शाही नेपाली सेनाले २१ जना माओवादी नेता कार्यकर्ताको सामुहिक हत्या गर्‍याे ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेतृत्व गरेको राज्य पक्ष र प्रचण्डले नेतृत्व गरेको विद्रोही पक्षबीच वार्ता असफल भएर मुलुक पुनः युद्धमा फर्किने आधार दोरम्बा हत्याकाण्डले बनायो । युद्धविरामको समयमा तत्कालीन शाही नेपाली सेनाका मेजर रामराज पोखरेलको सनकमा माओवादी कार्यकर्ताहरुको कत्लेआम गरिएको घटनाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराएको थियो ।

जसरी बाँदरमुडे पीडितले प्रचण्डलाई पटक–पटक प्रश्न गरिरहेका छन्, दोरम्बा हत्याकाण्डका पीडित परिवारले कसलाई प्रश्न गर्ने ? बाँदरमुडेमा स्मारक बन्छ भने दोरम्बामाथि सौतेलो व्यवहार किन ? यस्ता प्रश्न पनि बेलाबेलामा उठाइएकै छन् ।

आखिर संसार हल्लाउने र देशमा थप ७ हजार मान्छेको ज्यान लिने युद्धलाई निरन्तरता दिन कारक बनेको दोरम्ब हत्याकाण्ड कसरी भएको थियो ?

यसपटक हामीले दोरम्बा हत्याकाण्डमा सेनाको कब्जाबाट भागेर ज्यान जोगाउन सफल भएका माओवादी आन्दोलनका एक योद्धा मैनकुमार मोक्तान (मदन) लाई भेटेर लामो कुराकानी गर्‍याैं ।

युद्धरत तत्कालीन नेकपा माओवादीका रामेछाप जिल्ला सेक्रेटरी तथा जनमुक्ति सेनाको बटालियन कमिसारसम्म भएका मोक्तान दोरम्बा हत्याकाण्डका ‘जिउँदो शहीद’ हुन् । पार्टी एकीकरणअघिसम्म तत्कालीन माओवादी पोलिटब्यूरो सदस्य रहेका मोक्तानले दोरम्बा हत्याकाण्डको प्रत्यक्षदर्शीका रुपमा त्यो क्षणको स्मरण यसरी गरेका छन्ः

त्यो भयानक विपत्ति

युद्धविरामको समय भएकाले हामी अर्धभूमिगत जस्तै थियौं । खुलेआम सदरमुकाम र सुरक्षाफौज भएका ठाउँतिर नगए पनि हामी युद्धको अवस्थामा थिएनौं । ०६० साउन ३२ गते रामेछाप काभ्रे विशेष जिल्ला कमिटीअन्तर्गत इलाका कमिटीको बैठक बस्ने भएकाले हामी दोरम्बातिर लाग्यौं ।

तत्कालीन जिल्ला इन्चार्ज हरि दाहाल (ललित), सेक्रेटरी म, जिल्ला जनसरकार प्रमुख बाबुराम लामा (पुष्प) सहितको टोली गुन्सीबाट दोरम्बातर्फ लाग्यौं । हामीसँग जनमिलिसिया हेडक्वार्टरका कमाण्डर रक्तिम र जनमुक्ति सेनाको सानो टुकडी पनि थियो । युद्धबिरामको बेला भएकाले कुनै भिडन्तको आशंका थिएन ।

युद्धविरामको मौका, त्यसमा पनि तत्कालीन शाही सेना ब्यारेक वरिपरिको केवल ५ किलोमिटर क्षेत्रभन्दा बाहिर निस्कन नपाउने आचारसंहितामा सरकारले सहमति गरेको थियो । सेनाभन्दा करिव २५ कोष टाढा दोरम्बामा पार्र्टी बैठक राखेका थियौं हामीले ।

साउन ३१ गते बेलुका हामी दोरम्बा पुगेर स्थानीय शिक्षक युवराज मोक्तानको घरमा बास बस्यौं । युवराज माओवादीका समर्थक थिए । उनका छोरा लीला पनि हामीसँग आवद्ध थिए । राति हामीले त्यहीँ बसेर योजना बनायौं । इलाका सेक्रेटरी ललिका पनि हुनुहुन्थ्यो । विहान हामी नेताहरुको टिम बसेर इलाका बैठकको योजना बनाउँदै थियौं ।

साथीहरु कोही मेसमा खान बनाउँदै थिए, कोही आराम गर्दै थिए । आ–आफ्नो धुनमा थियौं सबैजना । दोरम्बाको भिरकुनाभन्दा त्यो ठाउँमा सधैं कुहिरोले ढाकेको हुन्छ । साउन मसान्तको दिन सिमसिम पानी र कुहिरोले ढाकेकोको थियो ।

बिहान ११ बजेतिर सेनाले हामी बसेको एरिया घेरा हालिसकेको रहेछ । तर, हामीले चाल पाएनौं । हामी बसेको घरभन्दा केही पर सेन्ट्री बसेकी एकजना बहिनीलाई गोलीले ढालेर उनीहरु अघि बढ्दासम्म हामीले थाहा पाएनौं ।

बैठकस्थलमा आउँदै गरेका टेकवहादुर थापा मगरलाई पनि उनीहरुले कब्जा गरेर हत्या गरेपछिमात्रै हामीले सेना आयो भन्ने थाहा पायौं । तर, त्यतिबेला हामीले केही गर्न सक्ने अवस्था नै थिएन ।

घरभन्दा बाहिर रहेका साथीहरु भाग्न सफल भएछन् । हामी मुख्य टिम घरभित्रै थियौं । घरबाहिर १०÷१२ जना साथीहरु थिए । उनीहरु सेनाले टेकबहादुरलाई समातेर मारेको खबर सुनेपछि भागेछन् । घरभित्र हामी मुख्य नेतृत्वसहित २१ जना थियौं ।

अब के गर्ने भनेर सोच्न नपाउँदै सेना घरभित्र प्रवेश गर्न थालिसकेको थियो । हामी बसेकै घरको करेसाबारीमा प्रदीप दोङ ‘रक्तिम’ लाई पनि हत्या गरेपछि हामी बसेकै ठाउँसम्म बन्दुक पड्केको आवाज आयो ।

युद्धविरामको समय हो, किन आएको भन्ने पनि सोध्न पाइएन । यिनीहरुले मार्छन् भन्ने लागेपछि मैले भागौं साथी हो भनेँ । मचाहिँ घरभित्र माथिल्लो चोटाको झ्यालबाट हामफालेर बारीको कान्लाबाट ठाडै ओरालो भागेँ ।

मेरो पछि–पछि दर्जनौं राउण्ड गोली चल्यो । तर, संयोगवश मलाई एउटै पनि लागेन । ओरालो बाटो, साउनको मकैबारी भएका कारण पनि लुक्दै गोली छल्दै भाग्न सकियोजस्तो लाग्छ ।

जिल्ला इञ्चार्ज हरि दाहाल अलमलमा पर्नुभएछ । उहाँकी पत्नी ललिका, जो इलाका सेक्रेटरी पनि हुनुहुन्थ्यो, उहाँ अलि विरामी भएकाले के गर्ने भन्ने परेछ । तर, उहाँ पनि अन्तिममा ढोकामा उभिएका सेनालाई घचेटेर भाग्दै तल मलाई नै भेट्न आइपुग्नुभयो ।

हामी ओरालो भाग्दै–भाग्दै खोल्सो तरेर पारिपट्टि पुग्यौं । अरु साथी के भए भन्ने थाहा हुनै सकेको थिएन । आँगनमा भएका साथीहरु हामीभन्दा पहिले भागिसकेका थिए । उनीहरु पनि पारि पुग्दा भेटिन थाले । भाग्न सफल भएका १४÷१५ जना जम्मा भएर हामी भागेको घरमा के भयो होला भन्ने चिन्ताले खबर बुझ्न थाल्यौं ।

सेनाले घरमाथि मात्र घेरा हालेकाले हामी भागेर बाँच्न सफल भएका थियौं । यदि घरमुनि पनि घेरा हालेको थियो भने हामी कोही नबाँच्ने रहेछौं ।

हामी उकालो लागेर पारिगाउँमा पुग्दा साथीहरुलाई लहरै लाइन लगाएर हिँडाएको देख्यौं । त्योबेला कुहिरो भागेकाले देख्न सकियो । हामीलाई लाग्यो, साथीहरुलाई गिरफ्तार गरेर लगेको होला । उहाँहरुलाई पनि सायद गिरफ्तार मात्रै गर्ने होला, हत्या गर्दैन भन्ने विश्वासले नै भाग्नुभएन ।

घेरामा पर्नुभएका सबै साथीलाई शाही सेनाले हात पछाडि लगेर डोरीले बाँधेको दृश्य हरि दाहालले अलि परको घरबाट देख्नुभएको रहेछ । हात बाँधेका निहत्था सबैलाई शाही सेनाले १ घन्टा हिँडाएर डाँडाकटेरी भन्ने ठाउँमा पुर्‍याएर लाम लगाएर एक–एक गर्दै गोली ठोकेर मारेको रहेछ ।

हामीले पारिपट्टि बन्दूक पड्केको र महिला साथीहरु चिच्याएको आवाज सुनेपछि शाही सेनाले सिध्यायो भन्ने अनुमान गरिहाल्यौं । साथीहरुलाई लस्करै लाइन लगाएको रहेछ ।

जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङले म कमाण्डर हुँ, जे गर्ने होला मलाई गर, अरु साथीहरुलाई छाडिदेऊ भन्नुभएको रहेछ । त्यसैले अरु सबै साथीहरुलाई मारेपछि उहाँलाई यातना दिएर मारेको भन्ने प्रत्यक्षदर्शीले बताए ।

उनीहरु सबैजनालाई लाइन लगाएर हत्या गरेपछि लासहरु त्यतिकै छाडेर हिँडेछन् । त्यसदिन त्यतिकै रात परेको थियो । हामीले केही साथी पठायौं र लासहरु संकलन गर्न भन्यौं । भोलिपल्ट शवहरु गाडियो ।

त्यो घटनामा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ, इलाका सेक्रेटरी ललिका, जनमिलिसिया प्रमुख रक्तिम, चतुरमान थामी, टेकबहादुर थामा मगर, बिष्णुमाया मगर, पदमराज गिरी, घरधनी युवराज मोक्तान र छोरा लीलालाई पनि सेनाले हत्या गरेको थियो ।

हत्या हुने अरु कमरेडहरुमा उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, सोमई थामी ‘संगिता’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायतका साथी पनि परे ।

साथीहरुलाई हत्या गरेको थाहा पाउनासाथ अब के गर्ने भन्ने भयो । त्यतिबेला अहिलेजस्तो सञ्चार सम्पर्क सहज थिएन । मसँग एउटा नोकिया मोबाइल थियो । जिल्ला हेडक्वार्टरले प्रयोग गर्ने सो मोबाइलबाट मैले क्षेत्रीय व्यूरो इन्चार्ज अग्नि सापकोटालाई फोन लगाएँ । उहाँलाई सबै जानकारी गराएपछि आफू सुरक्षित हुन भन्नुभयो ।

त्योबेला आफ्नो च्यानलभन्दा भन्दा बाहिर कसैसँग कुरा गर्न पाइन्नथ्यो । मैले उहाँलाई फोन गरेपछि उहाँले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभयो होला । त्यसपछि पार्टीले केही समयमै वार्ता भंग गरेर युद्धमा फर्किने निर्णय गर्‍याे । हामी त्यहाँबाट हिँडेर दिमीपोखरी पुग्यौं । यति ठूलो त्रासदी युद्धकालमा कहिल्यै भोगिएको थिएन । नसोचेको घटना भएको थियो ।

दोरम्बा हत्याकाण्डपछि हामीले यसको कारण खोज्न थाल्यौं । हामीले धेरैसँग वयान लिएपछि त्यसक्रममा स्थानीय स्वास्थ्यकर्मी समेत रहेकी रेलिमाया मोक्तान र अर्का एकजनाले खबर गरेर सेना आएको भन्ने थाहा भयो । उनीहरुको पनि हत्या भयो ।

कृष्णजंग रायमाझी नेतृत्वको छानविन आयोगले पनि अनुसन्धान गरेर राज्यबाट युद्दविराम विपरीत निहत्थाको हत्या गरेको रिपोर्ट दिएको थियो । सायद त्यो रिपोर्ट अहिले पनि होला ।

त्यो घटनापछि दोरम्बामा सेनाको ब्यारेक बसेको अहिलेसम्म उठेको छैन । वास्तवमा दोरम्बा हत्याकाण्ड तत्कालीन सेनाका मेजरको सनकमात्र थियो कि राज्यले नियोजितरुपमा गराएको थियो ? अहिलेसम्म प्रष्ट छैन । तर, यसप्रकारको मानवताविरुद्धको अपराध गर्ने शाही सेनाका कमान्डरलाई कारबाही गर्नुको साटो पुरस्कृत गरेर सरकारले शान्ति सेनामा पठायो ।

हामीले पनि केही असावधानीका कारण ठूलो क्षति भोग्यौं कि जस्तो लाग्छ । युद्धविराम भए पनि सेनाको गतिविधि हामीले वाच गर्नुपथ्र्यो । हामी बढी विश्वासमा परेका थियौं । हामीलाई सेनाबाट धोका हुन्छ भन्ने थाहा भएको भए हतियार हामीसँग पनि थियो । तर, हामीले हतियार चलाउनै पाएनौं ।

हाम्रा साथीहरुले बन्दूकहरु दाउराको चाङमा राख्नुभएको रहेछ । केही दिनपछि हामीले त्यो घरमा गएर बन्दूक जहाँ राखिएको थियो, त्यहीँ भेट्यौं । मसँग पनि सानो हतियार थियो, तर चलाउन पाइएन । यदि हामीले पनि हतियार चलाएको भए हाम्रोतर्फ त्यति ठूलो क्षति हुने थिएन होला ।

आज पनि दोरम्बामा मारिएका कमरेडका परिवारका सदस्य भेट्दा हामी भावविव्हल हुन्छौं । अब कहिल्यै त्यस्तो नहोस् भन्नु बाहेक हामी केही गर्न सक्दैनौं । तर, पीडितले न्याय पाउनुपर्छ । हामी त निरन्तर क्रान्तिमा छौं, बाटोमात्र फरक हो । अनलाइनखबरमाबाट

 

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार १०:४२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,