Breaking News

कार्तिक १६, काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको सय दिन हुँदा पनि प्रहरी अभियुक्तको नजिक पुग्न सकेको छैन । अनुसन्धानको सुरुवाती चरणमा प्रमाण नष्ट हुँदा अभियुक्त पत्ता लाग्न नसकेको प्रहरी अधिकारीले बताएका छन् ।

अनुसन्धानमा लापरबाही गरेको भन्दै गृह मन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाउने निर्णय गरिसकेको छ । अन्य केही प्रहरीलाई विभागीय कारबाहीको तयारी भइरहेको छ । चरम लापरबाही गर्ने प्रहरीलाई कारबाही त भएको छ, तर पीडितको मूल प्रश्न (अभियुक्त खोइ ?) को कुनै जवाफ दिन सकेको छैन । समय बित्दै जाँदा प्रहरी अनुसन्धानमा थप प्रश्न उठ्दै गएका छन् ।

१० साउनमा साथी रोशनी बमको घरमा गएकी निर्मला भोलिपल्ट नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनास्थलको सुरक्षामै चुकेको प्रहरीले अनुसन्धानमा गर्नुपर्ने न्यूनतम कामसमेत गरेको देखिएन । तालिमप्राप्त कुकुरसमेत घटनास्थल नलगेको र मृतकको सुरुवाल पानीमा चोबल्ने तथा जलाउने गरेकाले प्रहरीमाथि सुरुदेखि शंका बढेको हो ।

किन गठन भएन विशेष अनुसन्धान टोली ?
निर्मला बलात्कार–हत्या प्रकरणमा आधा दर्जन छानबिन समिति गठन भए । अनुसन्धानमा प्रहरीले गरेको कमजोरी पत्ता लगाउन ती समिति गठन भएका हुन् । अनुसन्धानमा सघाउन प्रहरी प्रधान कार्यालय तथा सिआइबीबाट थप प्रहरीहरू कञ्चनपुर पठाइएको छ । तर, अभियुक्त पत्ता लगाउन भने अहिलेसम्म कुनै पनि विशेष समिति गठन भएको छैन ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १२ मा विशेष अनुसन्धान टोली गठन गर्न सक्ने प्रावधान छ । कसुरको गम्भीरताका लागि विशेषज्ञसमेत राखेर विशेष टोली गठन गर्न सकिने प्रावधान छ । तर, बलात्कारपछि हत्याजस्तो गम्भीर विषयमा प्रहरी नेतृत्वले विशेष अनुसन्धान टोली गठनमा चासो दिएको छैन ।

सो दफामा विशेष टोलीको आवश्यकता भए माथिल्लो अधिकारी तथा प्रहरी महानिरीक्षकले विशेष टोली गठन गर्न पाउने प्रावधान छ । सो टोलीलाई अनुसन्धान अधिकृत सरहको अधिकार हुन्छ ।
विगतमा संगठित अपराधमा मात्र विशेष टोली गठन गर्न सकिने प्रावधान थियो । तर, १ भदौदेखि लागू भएको अपराधसंहितामा अपराधको गम्भीरताका आधारमा विशेष टोली गठन गर्न सकिने प्रावधान छ ।

प्रहरी बाहिरका विशेषज्ञसमेत राख्न सकिने प्रावधान कानुनमा छ । प्रहरी अनुसन्धानमा आशंका बढिरहेका वेला विज्ञ व्यक्तिलाई राखेर अनुसन्धान गर्न सकिने भए पनि प्रहरीले चासो दिएको छैन ।

टाइम लाइन
१० साउन : साथी रोशनी बमको घरमा गएकी निर्मला सम्पर्कविहीन ।
११ साउन : बिहान करिब ९ बजे उखुबारीमा शव फेला ।
१४ साउन : अनुसन्धानका लागि सिआइबीबाट टोली परिचालन ।
४ भदौ : जिप्रका कञ्चनपुर र सिआइबी टोलीद्वारा दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक ।
५ भदौ : नक्कली अभियुक्त सार्वजनिक गरिएको भन्दै स्थानीयद्वारा आन्दोलन, प्रहरीको गोली लागेर एक घाइते ।
६ भदौ : कञ्चपुरका एसपी डिल्लीराज विष्ट, सिडिओ कुमार खड्का र जिप्रकाका असइ ज्ञानबहादुर सेठीको सरुवा ।
७ भदौ : गृह मन्त्रालयद्वारा सहसचिव हरिकुमार मैनालीको संयोजकत्वमा छानबिन समिति गठन, महेन्द्रनगरमा प्रहरीको गोली लागेर स्थानीय सनी खुनाको मृत्यु ।
९ भदौ : एसपी विष्ट निलम्बित ।
२६ भदौ : प्रमाण नपुगेपछि दिलीपसिंह विष्ट र बम दिदीबहिनी हिरासतमुक्त ।
३० भदौ : छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा पाँच प्रहरी (डिएसपीद्वय ज्ञानबहादुर सेठी, अंगुर जिसी, इन्स्पेक्टरद्वय जगदीश भट्ट र एकेन्द्र खड्का, असइ रामसिंह धामी) निलम्बित ।
९ असोज : छानबिन समितिद्वारा प्रतिवेदन पेस ।
२१ असोज : हरिकुमार मैनाली नेतृत्वको छानबिन समितिको प्रतिवेदन सार्वजनिक ।
८ कात्तिक : चरम लापरबाही गरेको आरोपमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाउने निर्णय ।
१४ कात्तिक : थप चारजना व्यक्तिको डिएनएन परीक्षणका लागि नमुना संकलन ।

अनुसन्धानमा डिएनएकै भर
निर्मला हत्याको अनुसन्धानमा प्रहरी अब डिएनएकै भर परेको छ । महेन्द्रनगरका थप चार शंकास्पद व्यक्तिको डिएनए परीक्षणका लागि बुधबार रगत लिइएको छ । तर, प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

उनीहरूको डिएनए मृतकको शरीरमा भेटिएको डिएनएको नमुनासँग मेल नभए थप धेरै व्यक्तिको परीक्षणको तयारी पनि भइरहेको छ । अनुसन्धानको प्रमुख प्रमाण डिएनए नै भएकाले धेरैको परीक्षणको तयारी गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । सुरुमा प्रहरीले चक्र बडू र दिलीपसिंह विष्टको डिएनए परीक्षण गरेको थियो । डिएनए रिपोर्ट नै नआई विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेपछि प्रहरी विवादमा फसेको थियो ।

घटनामा प्रहरी नै संलग्न भएको आशंकामा तत्कालीन एसपी विष्ट, उनका छोरा किरण र अर्का स्थानीय युवक आयुष विष्टको समेत डिएनए परीक्षण भएको थियो । तर, उनीहरूको डिएनए रिपोर्ट पनि मेल खाएन ।

enayapatrika

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १२:०२

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,