Breaking News

फुलहरुको पर्व तिहारको संस्कृतिक पक्ष र काभ्रेको अवस्था

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १४:१०

काभ्रे / तिहार हिन्दू धर्मावलम्बीको दशैंपछिको मुख्य चाड हो । यो कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म गरी पाँच दिन मनाइन्छ । यसलाई नै यमपञ्चक पनि भनिन्छ । विशेषगरी, भारत र नेपालमा दीपावलीको रुपमा धूमधामसाथ मनाउँने तिहारलाई फूलको पर्वका रूपमा पनि लिइन्छ । तिहार यी दुई देशमा मात्र सीमित छैन । रोजगारी, व्यवसाय तथा अध्ययनको शिलशिलामा विश्वभर छरिएर रहेकाहरुलेसमेत तिहारलाई विशेष चाडका रूपमा मनाइन्छ । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । तिहारलाई भाषाअनुसार फरक–फरक नामले सम्बोधन गर्ने गरेको पाइन्छ । जस्तैः दीपावली, दिवाली, तेउहार, तिहार आदि । यिनीहरुको आ–आफ्नै धार्मिक तथा संस्कृतिक महत्व छ । त्यसमध्ये भाइटीकाको दिनलाई विशेष रुपमा महत्वपूर्ण दिन मानिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजा गर्दै दाजुभाइको सुख, समृद्धि, अरोग्य एवं दीर्घायुको कामनासहित सप्तरंगी टीका, मखमली अथवा सयपत्री फूलको माला लगाइदिने र मन पर्ने खानेकुरा खुवाउने, परम्परा छ ।

हिन्दू धर्मशास्त्रका अनुसार र पौराणिक मान्यतालाई आधार मान्ने हो भने भगवान् सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेर रमाइलो गरी बसेका यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पाँच दिनसम्म यमुनाको घरमा बस्दा यमराज बहिनीको व्यवहारले खुसी भई इच्छाएको वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिनलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ, दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदैव वृद्धि होस् भन्ने मागेको र यमराजले आशीर्वाद दिएको मानिन्छ । त्यसपछि यमराज शुद्धचित्तले भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति तथा कीर्ति फैलने, धनधान्य हुने वर दिई बहिनीसँग बिदा भई गएको कथा छ । यसरी प्राचीनकालदेखि यो पौराणिक मान्यतालाई आधार मानेर तिहार मानिँदै आएको पाइन्छ ।

तिहार कहिलेदेखि मानिँदै आएको हो भन्ने यकिन तथ्य कतै उल्लेख भएको पाइँदैन । तर पनि तिहार प्राचीन कालदेखि नै मनाउने गरेको विभिन्न पुस्तकमा उल्लेख गरिएको भेटिन्छन् । यो कहिलेदेखि मान्न थालियो भनेर यकिन मिति भन्न नसके पनि यो निकै पुरानो चाड हो भन्नेमा दुईमत छैन । पिङ खेल्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । तिहारमा खेलिने देउसी–भैलीले सामाजिक सद्भाव कायम गर्न सघाउ पुग्छ । यसले साथीभाइबीचको सामीप्यता बढाउँछ । समाजमा रौनक थप्छ । यो चाडले मानिस–मानिसमा जीवन निर्वाहका लागि एक–अर्काको महत्व पनि बुझाउँछ । तिहारमा बलेको बत्तीले समाजमा भएका अँध्यारोलाई जितेर उज्यालो बनाउने चाडका रूपमा व्याख्या गरिएको छ । समयको क्रम संगै तिहार पछिल्लो समयमा झिलिमिलि पर्वको रुपमा विकास भएको छ ।

तिहारमा दिदिबाहिनीले दाजुभाईलाई लगाउने सप्तरंगी टीका इन्द्रेणीको प्रतीक को रुपमा लिइन्छ । सप्तरंगी टीका बनाउँदा इन्द्रेणीका रंगलाई आधार मानिन्छ । यसलाई शौर्य थेरापी पनि भनिन्छ । पहिला–पहिला सप्तरंगी टीका बनाउन वनस्पतिको प्रयोग हुन्थ्यो । साथै स्वास्थ्यवद्धर्धक पनि । हिमाली क्षेत्रमा ढुंगा पिसेर सप्तरंगी टीका बनाउने प्रचलन अझै पनि जिवित छ । तर आजभोली बजारमा आएका रंगहरुलाई नै टिकाको रुपमा प्रयोग गरिहरेको अवस्था छ । जुन स्वास्थ्यको लागि पनि राम्रो मानिदैन । अहिलेको अवस्थामा वजस्पतिबाट बनेको रंग बारे सोच्नु त कल्पना मात्रै हुनेछ । त्यसैगरी तिहारमा ठाडो पारेर लगाउने टिकाको अर्थ अग्नि र ज्ञानको प्रतीक हो । भाइटीकामा प्रयोग हुने सामान तेल, दुबो, मखमली, सयपत्री, ओखरहरू दीघार्युसँगै वात्सल्यको प्रतीकको रुपमा लिइन्छ । पहिला दिदीबहिनीको हातबाट टीका लगाउने चलनलाई निकै महत्व ठानिन्थ्यो भने आजभोलि यो अवस्था खस्किदो क्रममा रहेका छन् । अहिले मानिसहरु आफ्नो समय अनुकूल भए मात्र दिदिबाहिनीको हातबाट टिका लगाउन जाने वा आफु बसेको ठाउँमा बोलाउने प्रचलन बढ्दो छ । जसरी दशैंमा एक महिना अघिदेखि नै घर जाने तयारी गरिरहेका हुन्छन् भने टाढा जानु पर्नेहरुले घण्टौँसम्म लाईन बसी बस र प्लेन टिकट काटिरहेको दृश्य देखिन्छ भने तिहारमा देखिदैन । यसले पनि के प्रष्ट पर्छ भने तिहारलाई खासै महत्वका साथ लिएको छैन । अर्को कुरा कुनै पनि सरकारी वा निजि संघ संस्थामा काम गर्ने कर्मचारीहरुले दशैंमा जस्तो लामो विदा नपाउने भएकाले पनि यस्तो भएका हुन् । यसले पारिवारिक आत्मीयता, सांस्कृतिक महत्व कम र व्यापारीकरण बढी भइ सामाजिक सद्भाव कायम हुनुभन्दा पनि आधुनिक हुँदै गएको भन्न सकिन्छ ।

तिहार खस–आर्य बहुन क्षेत्रीले मात्र नभई तामाङ, मगर लगायतका आदिवासी जानजाति, थारू समुदायमा पनि मनाउन थालिएको छ । त्यसो त आदिवासीहरुले तिहार प्रचीनकालमा मानिएको थिएन भन्ने होइन । तर, यो उनीहरुको संस्कृति भने होइन । तिहारले दिदीबहिनीसँगको सम्बन्धमा प्रगाढता एवं सद्भाव विकास हुन्छ । तिहार मनाउने विधि जाति, धर्मका साथै भूगोल अनुसार पनि फरक हुन्छ । हिन्दू धर्मावलम्बीले परम्परागत शैलीमा सबै रितीरिवाज पु¥याएर गर्ने गरे पनि अन्य समुदायले आफ्नै शैलीमा मनाउने गरिएको पाइन्छ । त्यसैगरी आजभोलि दाजुभाइ नहुने अर्थात् दिदीबहिनी मात्र हुनेले एक–आपसमा टीका लगाइ यो पर्व मनाउन थालिएको छ, भने कसैले मन्दिरमा गई दिदिबाहिनी नभएकाहरुले दाज’भाई नभएकाहरुलाई टिका लगाई तिहार मनाउने गरिएको पनि देखिन्छ । विशेष गरी यो काठमाण्डौँको बसुन्धरामा तिहारको दिन देखिन्छन् । यसले आफ्नो दाजुभाई तथा दिदीबाहिनी नभएको महसुस गर्न दिदैन । यो एक हिसाबले सकारात्कम पक्ष हो ।

कृत्रिम मालाको बढ्दो माग र काभ्रेको अवस्था

तिहार मनाउने क्रममा प्रत्येकको घरको ढोका, झ्याल, देखि पुजा कोठा र पुजा गर्ने हर प्राणीको लागि फुलको प्रयोग हुन्छ । गणितीय आधारमा हेर्ने हो भने तिहारमा मात्र १ करोड भन्दा बढी फूल खपत हुन्छ । तैपनि ग्रामिण क्षेत्रमा प्रत्येक घरपरिवारमा ५० देखि १०० बोट फुलको विरुवामा फुल नफुलाउने कोहि पनि हुदैनन् । अझ ग्रामिण भेगमा कोहि कसैको एकाधमा फुल फुलेको छैन भने सहयोग गर्ने परम्पराको सस्कृति पनि छ । यो अत्यन्तै तरिफयोग्य र स्वागतयोग्य कुरा हो । नेपालमा फूलको बजारको अवस्था हेर्ने हो भने शहरी क्षेत्र आयातम नै निर्भर रहेको पाइन्छ । नेपालको प्रया सबैजसो शहरमा फूल माला भारतबाट नै आयात गरिन्छ ।

केही वर्षदेखि काभ्रेमा व्यवसायिक रुपमा फुल खेति गर्ने किसानहरुको संख्या बढिरहेको छ । यस क्रममा काभ्रेको डाँडापारि, कोशिपारिका लगायतका विभिन्न ठाउँहरुसँगै रोशी भेग, बनेपा, पनौती, धुलिखेल र पांचखाल क्षेत्रमा व्यवसायिक फुल खेति गर्ने किसानहरु बढ्दै गएका छन् । तर काभ्रेमा व्यवसायिक खेति गर्ने किसान बढेपनि यहाँको उत्पादनले भने खासै बजार धन्न सकिरहेको छैन । यसको लागि फ्लोरिकल्चर यसोसिएसन नेपाल काभ्रे शाखाले विशेष योजनासहित फुल खेती गर्ने अनुकाल अवस्थाको सिर्जना गर्ने हो भने काभ्रेको किसानको तिहार लक्षित आम्दानिमा मात्रै पनि बृद्धि गर्न सकिन्छ । अधिकांश भुभाग ग्रामिण क्षेत्र भएको कारण धेरै जसो किसानले चाडपर्व तथा धार्मिक समयलाई लक्षित गरि गरिएको फुल खेतीले गर्दा तिहारको बेला फुल बाहिरबाट आयात गर्न पर्दैन । अझ काभ्रेमा उत्पादित फुलले राजधानी काठमाडौंको बजारमा समेत स्थान पाउने गरेको छ । यसलाई व्यवस्थित रुपमा पुष्प व्यवसयि संगठन र स्थानिय सरकारविच सहकार्य र समन्वय गर्ने हो भने प्रभावकारी रुपमा किसानको मनोवल बृद्धि गरी व्यवसयिक खेति तर्फ उन्मुख गर्न सकिन्छ । साथसाथै जिल्लामा कृत्रिम मालाको आयत बृद्धि भएसँगै बजारमा सयपत्री र मखमली र गोदावरी जस्ता फूल कम देख्न थालिएको छ । यस्तो हुनुमा कृत्रिम मालाहरु तिहारमा मात्र नभएर अन्य बेला पनि प्रयोग हुनुको साथै तिहारमा फूल नपाउने र फूललाई धेरै दिनसम्म राख्न नसकिने भएकोले कृत्रिम मालाको माग बढेको हुन् । फेरी यो सयपत्री र मलखली माला भन्दा लामो समयसम्म राखेर बेच्न मिल्ने भएका कारण र एउटै माला धेरै पकट प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बजारमा बढिरहेको हो । बजारका बिभिन्न सपिङ्ग सेन्टरदेखि हाटबजारमा उपभोक्ताहरु पनि अन्य माला भन्दा कृत्रिम माला नै खोजिरहेको, किनिरहेका देखिन्छन भने धेरै जसो व्यवसायीहरुले पनि कृतिम माला नै बिक्रीका लागि राखिएको भेटिन्छन् ।

यतिबेला बनेपाको हरेक चोक, गल्लीहरुमा रहेको पसलहरुमा कृतिम माला नै बढि देखिन्छ । त्यो किरान पसल होस् या फलफुल पसल । त्यतिकै मात्रमा फुटपथ तथा सडक छेउछउमा पनि माला, तिहारका विशेष रुपमा प्रयोग गरिने खाने कुरा आदिका खुद्रा व्यापार गरिरहेकाहरु पनि देखिन्छन् । ती व्यापारिहरुको लाइनमा सयपत्री, मखमली जस्ता फुलहरु बेच्ने मान्छे थोरै मात्र देखिन्छन् । पछिल्लो समयमा त झन् चाइनबाट आयता भएका विद्युतीय बत्तीहरु पनि बजारमा प्रशस्त मात्र बेच्न राखिएका छन्, भने जिल्लाको प्रमुख सहरहरु देखि देशैभरिका सहर र गाउँका घरहरुमा ती नै विद्युतीय बत्तीहरु बलीरहेको देखिन्छ । अझ विशेष गरी रातको समयमा । बिधुतिय बत्तीहरु जस्ता सामग्रीले दिप प्रज्वलनको लागी परम्परागत रुपमा प्रयोग गरिने पाला लाई लगभग विस्थापनको अवस्थामा पुयाएको छ ।

त्यसो त सयपत्री, मखमली, गोदावरी जस्ता फुलहरु अब लोभ हुने नै हो त रु, फूलखेतीका किसान हराएकै हो त रु भन्ने लाग्न सक्छ । तर जसरी बजारमा कृत्रिम मालाले ठुलो हिस्सा ओगटेको छ । यस्तैगरी सयपत्री लगायतका फूल व्यापरीहरु तथा नर्सरीवालाहरु पनि बढ्दै गएका छन् । उदाहरणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका रमेश पाण्डेलाई लिन सक्छौ । उनले करिव ६ बिगाह जग्गामा व्यवसायीक फूल खेति गरेका छन् । पाण्डे जस्तै दर्जनौ व्यवसायीक फूल खेती गर्नेहरु काभ्रेमा पनि त्यतिकै मात्र बढिरहेका छन् । उनीहरुलाई व्यावसायिक रुपमा लगाएको सयपत्री फूल टिप्न भ्याइनभ्याइ छ । तै पनि बजारमा कृतिम माला खोज्नेहरु बढि देखिन्छ भन्न मात्रै खोजिएको हो । नेपालमा फुल खेती गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । त्यो सम्भवना एकदमै छ । मात्र हामीले फुल खेती नगरको र गरेकाहरुबाट उत्पादन भएको फुलले मात्रै बजार धन्न नसकेको कारण कृतिम फुलको माग बढिरहेको हुन् भने अर्कोकुरा तिहार जस्तो पर्वमा सयपत्री, मखमली जस्ता फुलहरुको महत्व बारे उपभोक्त तथा सर्वसाधारणलाई जानकारी गराउन सक्दा पनि यो अवस्थाको सिर्जना भएको हो । त्यसैगरी घरमै सजिलैसँग उत्पादन गर्न सक्ने फुललाई घरमै उत्पादन नगरी हामी परनिर्भर भएकै कारण पनि हो ।

घर, आँगन सजाउन, मानिस तथा जनावरलाई माला लगाउन, कार्यालय सजावटदेखि विभिन्न पूजापाठ गर्न यो वेला फूलको उपयोग सबैभन्दा बढी हुने गरेको छ । तर कृतिम मालाको मागको तुलनामा भने कम नै हो । विशेष गरी नेपालमा सयपत्री र मखमली फूलको खेती तिहारका लागि भनेर नै गरिन्छ । अरू वेला विदेशबाट सयपत्री फूलको गुच्छा र माला आयात हुने भए पनि तिहारमा बढीमा ३० प्रतिशत मात्र आयात हुने अनुमान गरिन्छ । किनभने तिहारलाई मध्यनजर गरी स्थानीय किसानले आफ्नै खेतबारीमा तथा व्यवसायीले जग्गा लिजमा लिएर फुलको खेती गर्छन् । त्यसैगरी छिमेकी जिल्लाहरुबाट पनि फूल बजारलाई भरथेग गर्दै आएका छन् । झन् यो वर्ष तिहार कार्तिकको अन्तिममा परेकाले किसानले खेतबारीमा लगाएको सयपत्रीसमेत फूलेर स्वदेशी उत्पादन वृद्धिमा सहयोग मिलेकोले पनि विदेशबाट आयात हुने फुलमालामा केही हदसम्म कम भएको छ । बजारमा विक्रीमा राखिएका फुलहरुमध्ये मखमलीको फुल बढी विक्री हुने गरेको पाइन्छ । खासमा यो अरु फुल जस्तो चाडै ओइलिँदैन । फेरी यसलाई दीर्घायू र स्वास्थ्य जीवनको प्रतीक मानिएको कारण पछिल्लो समय भाइटीकाको दिन दाजुभाइ र दिदी–बहिनीले सयपत्रीसँगै मखमली फूलको माला लगाइदिने प्रचलन बढ्दै गएको छ । मखमली फूल सेतो, गाढा कलेजी र हल्का रातो रङमा पाइन्छ ।

मखमली फूल नओइलाउने भएकै कारण विदेशमा रहेका नेपालीमाझ पनि लोकप्रिय छ । विदेशमा रहेर तिहारको भाइटीका लगाउनेहरूले नेपालबाट मखमलीको माला मगाउने गरेका छन् । यसलाई व्यवसायीले सानो संख्यामा भए पनि निर्यात भएको मान्ने गरेका छन् । नेपालीहरूको धेरै बसोवास रहेको जापान, अस्ट्रेलिया, क्यानाडालगायतका देशमा मखमली धेरै निर्यात हुन्छ । मखमलीमा मुलुक पूर्णरूपले आत्मनिर्भर छ । सयपत्रीको तुलनामा मखमली मालाको मूल्य पनि निक्कै सस्तो छ । फेरी यिनीहरुको तुलनामा गोदावरीको मुल्य बढी रहेको पाइन्छ । गोदावरी प्रयोग निश्चित समुदायले गर्ने भएकाले यसको ठूलो माग छैन । तर नेपालमा गोदावरीको व्यावसायिक खेती भइरहेको छ । यसको उत्पादनमा बढी लगात जाने भएकोले पनि यसको म’ल्य अरुको भन्दा बढी परेको हुन् ।

तथ्यांकमा हेर्दा

नेपालमा २०११ सालबाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै काठमाडौं, पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढीलगायतका सहरमा पनि फैलँदो स्थितिमा रहेको छ । आर्थिक वर्ष ०७४/७५ सम्म आइपुग्दा करिब ६ सय ९७ पुष्प व्यवसायीहरू यस व्यवसायमा संलग्न छन् र देशका ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

आव ०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको छ भने २ करोड ३७ लाख रुपैयाँको निर्यात भएको छ । समग्रमा पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको छ । हाल लगभग १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्पखेती भइरहेको छ । यस क्षेत्रबाट ४३ हजार ५ सयभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पुष्प व्यवसायमा आश्रित व्यक्तिहरूले रोजगारी पाइरहेका छन् । यस व्यवसायले आव ०७४र७५ मा जम्मा १ अर्ब ८६ करोडभन्दा बढीको कारोबार गरेको पाइएको छ ।

इकमान लामा (इमाला)

लामा यस अनलाईनको प्रधान सम्पादक पनि हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १४:१०

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,