Breaking News

महिला कसरी सुरक्षित रहने ?

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १७:१७

कार्तिक, मुलुकमा महिला हिंसाका घटना बढ्दो क्रममा देखिन्छन् । दिनहुँजसो बाहिरिइरहेका बलात्कार तथा एसिड प्रहारका घटनाले समाज कतातिर धकेलिँदैछ आँकलन गर्न हम्मे–हम्मे परिरहेको अवस्था त छ साथै अब छोरीचेलीले समाजमा कसरी सुरक्षित रहने भन्ने चिन्ता पनि उत्तिकै बढ्दै गएको छ । यही सन्दर्भमा महिलाले कसरी आफूलाई सुरक्षित राख्ने भन्ने विषयमा विभिन्न क्षेत्रका विज्ञहरूको विचार :

समारा शाह ठकुरी

बलात्कारी मात्र होइन एसिड प्रहार गर्ने, यौनहिंसा गर्न खोज्ने अपराधीलाई पनि फाँसीकै सजाय हुनुपर्ने कानुन बन्न जरुरी छ । त्यस्ता अपराधीले एउटालाई बलात्कार गर्ने मात्र होइन संसार मासेर उजाड बनाउँछन् । हामी महिला तथा युवतीहरू पनि अनुशासित र मर्यादित हुनुपर्छ । मानिसलाई स्वविवेकले मर्यादित हुन दिनुपर्छ करले त अझ बिच्किन्छ मात्र ।

सुमी मुल्मी

नेपालमा अहिले सरकारले पोर्नसाइट बन्द गर्‍यो के त्यसो गर्दैमा बलात्कार, हिंसा घट्ने हो र ? अझ बढ्ला नि । सेक्स एजुकेसन कसरी र कहाँबाट सिक्ने ? हरेक कुराको सही प्रयोग र सदुपयोग भयो भने ज्ञान सिकिन्छ कुसंस्कार होइन । कानुनमै अपराधीलाई फाँसीको सजाय हुनुपर्छ अनि मात्र यो समस्या समाधान हुन्छ ।

आकांक्षा थापा

अहिले घटिरहेका घटना सभ्य समाजका लागि कलंक हुन् । मानिस पशुभन्दा तल्लो स्तरमा झरेको संकेत हो । त्यस्ता पीडकलाई सामाजिक घृणाले मात्र पुग्दैन कानुनबाटै कडाभन्दा कडा सजाय हुनुपर्छ । पीडक उम्काउने र ढाकछोप गर्ने जोकोही दण्डित हुनुपर्छ । यो विषयमा जनचेतना जगाउनु पनि जरुरी छ । हामी स्वयं पनि आफ्नो जीवनशैलीप्रति सजग, सचेत, संवेदनशील, सतर्क एवं अनुशासित हुनुपर्छ भने आत्मरक्षाको सीप समेत सिक्नुपर्छ ।

सुस्मिता अर्याल

बलात्कारी मात्र होइन एसिड प्रहार, यौनहिंसा गर्न खोज्ने अपराधीलाई कडा सजायको व्यवस्था हुनु जरुरी छ । अपराधीलाई सामाजिक बहिष्कार र कडा कानुनी सजाय राज्यपक्षले नै तय गर्नुपर्छ । पीडकलाई कडाभन्दा कडा सजाय दिनुपर्छ । धरौटीमा छुट्ने व्यवस्था बन्द गरिनुपर्छ ।

सुरेश विष्ट–आत्मरक्षा तालिम प्रशिक्षक, कुरोदय (सेल्फ डिफेन्स) मार्सल आर्ट एसोसियसन

गर्भमा हामी डिफेन्सिभ पोजिसनमा रहन्छौं । हाम्रो जीवनको त्यही वास्तविकता निर्खान–तिखार्न सकिए हामी जुनसुकै अवस्थामा पनि सुरक्षित रहनसक्छौं । आत्मरक्षा तालिमले धेरै हदसम्म हामीलाई सुरक्षित रहन सहयोग गर्छ । यो बलसँग सम्बन्धित कुरा होइन । विभिन्न कला र सीपसँग सम्बन्धित आत्मरक्षा तालिममा लेस–पावर, लेस–कन्ट्याक्ट तथा लेस–मोसनद्वारा हामीले पाएको जन्मजात प्रतिवाद गर्न सक्ने क्षमतामा थप विकास र अभिवृद्धि गरिन्छ । शारीरिक बनावट प्रक्रियाअनुसार प्रतिवाद गर्नसक्ने क्षमता अभिवृद्धिका लागि १ हप्ते तालिमले समेत कुनै पनि समयमा कुनै पनि व्यक्तिको आक्रमणबाट जोगिन सक्ने बनाउँछ । मुलुकमा विकराल रूपमा फैलँदै गएको हत्या, हिंसा, बलात्कार, एसिड प्रहारजस्ता जघन्य अपराधका विरुद्ध स्वयं व्यक्ति नै सक्षम भै प्रतिकार गर्न सक्ने क्षमता अभिवृद्धिका लागि कुरोदयसँगको सहकार्यमा राष्ट्रिय खेलकुद परिषद्ले ‘राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रम’ अगाडि ल्याएको छ । यो कार्यक्रम मुलुकभर सञ्चालित छ । यस्ता कार्यक्रममा सहभागी भै सीप सिकेर पनि महिला तथा युवतीहरूले आफूलाई सुरक्षित राख्न सक्छन् । प्रत्येक स्कुल–कलेज तथा विश्वविद्यालयहरूका पाठ्यक्रममा यो विषय समेट्न सके यस्ता घटना धेरै हदसम्म कम हुने थिए । मुख्यत: यस्ता तालिम, सीप र कलालाई सरकारले पनि महत्वका साथ लिइदिने हो भने हिंसा घट्दै जान्छ । हिंसा गर्न खोज्नेलाई सावधान गराउन जरुरी हुन्छ जसका लागि प्रतिकार गर्न सक्ने क्षमता अभिवृद्धि गर्नु र पीडितको आत्मबल बढाउनु मुख्य कदम हो । यसका लागि आत्मरक्षा तालिमको अर्को विकल्प छैन । यसअन्तर्गत एक चरणमा २२ वटा टेक्निक सिकाइन्छ । केश, घाँटी, हात, छाती आदि स्थानमा अगाडि वा पछाडिबाट लक गर्ने, रोक्ने होइन प्रतिकार गर्ने, अनुहारमा हान्दा नरोकी अर्को दिशातर्फ छल्ने, पीडकको शरीरका संवेदनशील अंगहरूमा हिट गर्नेजस्ता बल प्रयोग नगरी गर्न सकिने क्रियाकलापद्वारा आफू फुत्किन र सुरक्षित रहन सकिन्छ ।

किरण बज्राचार्य (प्रहरी उपरीक्षक, २ नम्बर प्रदेश, ट्राफिक प्रहरी कार्यालय प्रमुख)

सबैभन्दा पहिले त राज्यले गर्नुपर्ने सुरक्षाको प्रत्याभूति दर्‍हो हुनुपर्‍यो जसका लागि प्रभावकारी कानुन आवश्यक हुन्छ । पीडितले न्यायको अनुभूति गरोस्, पीडकले त्यस्ता काम गर्न १० पटक सोचोस् । त्यसका अतिरिक्त घटनामा गहिरो अनुसन्धान आवश्यक हुन्छ । यौनहिंसामा अन्य अपराधमा जस्तै भौतिक प्रमाण खोजिने हुँदा फोरेन्सिक ल्याव उच्च गुणस्तरको हुनुपर्‍यो । लामो समय महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेको अनुभवका आधारमा म केही तथ्य उल्लेख गर्न चाहन्छु । अतिथि देवो भव भन्नेलगायत अरूप्रति छिटो विश्वास गर्ने हाम्रो संस्कृतिले पनि यस्ता घटनामा सघाउ पुर्‍याएको छ । छिटो प्रलोभनमा आउने, लापरबाही, रातको समयमा कसैले बोलायो भन्दैमा गैहाल्ने, आफ्नो सुरक्षामा बेवास्ता गर्ने जस्ता धेरै कारणले यस्ता घटना घटिरहेका छन् । हामी महिला स्वयं आत्मरक्षाका कुरामा चनाखो हुनुपर्छ । सेक्युरिटी सिस्टमअनुसार भुइँतलामा नबस्नु भनिन्छ, झ्यालढोका ठीक छन् कि छैनन्, नजिकै भएका प्रहरीलगायत सुरक्षा निकायको नम्बर लिने, साथीभाइ वा घरपरिवारलाई आफू कहाँ जाँदैछु जानकारी दिने आदि काम गर्नुपर्छ । घरभित्र, स्कुलमा, कार्यालयमा यस्ता हिंसाका घटना भैरहेका छन् । प्रतिरक्षा गर्दा पीडक मर्‍यो भने बात लाग्दैन भन्ने जानकारीसम्म हाम्रा दिदीबहिनीहरूलाई छैन । यस्ता कुरा पाठ्यक्रममै समावेश गर्न जरुरी छ । सुसूचित हुनु जरुरी छ । मानसिक, शारीरिक एवं शैक्षिक हिसाबले प्रतिकूल अवस्थामा कसरी चुनौतीको सामना गर्ने भन्नेलगायतका ज्ञान सिकाइनुपर्छ । हरेक क्षण तयारी अवस्थामा रहनुपर्छ । कुनै स्थानमा जाँदा कस्तो जुत्ता लगाउने, ब्यागमा के–के चीज राख्ने भन्ने थाहा पाउनु जरुरी छ । विदेशतिर अत्यन्तै नराम्रो गन्ध आउने परफ्युम लगाइदिन्छन् जसले गर्दा कोही उनीहरूको निकट आउनै सक्दैन ।

सरु जोशी, लंैगिक समानता तथा विकास विज्ञ

महिलाहरू घरभित्र, अफिसमा, कार्यालयमा, विद्यालयमा, सार्वजनिक सवारी साधनलगायत हरेक स्थानमा असुरक्षित हुन सक्छन् । हामी समान भयौं भन्दा पनि शारीरिक एवं लैंगिक भूमिकाका कारण हामीलाई थप सुरक्षा आवश्यक हुन्छ । घाम डुबेपछि मात्र होइन कुनै स्थान जहाँ अलि सुनसान छ, जहाँ जंगल एवं झाडी र नौलो परिवेश छ त्यहाँ महिलाले शंकाको फाइदा लिन सक्नुपर्छ । केही हुन सक्छ कि, केही भैहाले कसलाई सूचना दिने, मेरो नजिकको को छ, प्रहरी कार्यालयको दूरी कति छ, १०० मा अथवा तत्काल आवश्यक हटलाइनहरू छन् कि छैनन् ? आफन्तलाई फोन गर्दा कुटाइममा फोन नउठाउन सक्छन्, दोस्रो–तेस्रो नम्बर वा व्यक्तिको सम्पर्क नम्बर पनि आफूसँग सुरक्षित राख्नुपर्छ । हिंसाका विविध विश्वव्यापी अध्ययन–अनुसन्धानले ३८ प्रतिशत महिला नजिकका व्यक्तिबाटै हत्या–हिंसाको सिकार हुने गरेको देखिएको छ । त्यसकारण यस्तो समस्या म माथि पनि पर्न सक्छ भनेर हर हमेसा सजग रहनुपर्छ । त्यस्तै ३०–३५ प्रतिशत महिला हिंसाको सिकार भैरहेको तथ्य सार्वजनिक भएको छ । हाडनाता करणीमा महिला हिंसा बढेको तथ्यांक बाहिर आएको छ । म बाहिर मात्र होइन भित्र पनि असुरक्षित हुनसक्छु भन्ने मानसिकता राखेर आफू तयारी अवस्थामा रहनुपर्छ । आफ्नो सुरक्षाका लागि सामाजिक सञ्जालमा आफूलाई कसरी व्यवस्थापन गर्ने, आफ्ना बारेमा अर्काले कस्तो किसिमको जानकारी लिइरहेको छ भन्ने विषयमा पनि सचेत हुनुपर्छ । कहिलेकाहीँ कसैसँग शंका लागेको अवस्थामा त्यसलाई हल्का रूपमा नलिई नजिकको विश्वासयोग्य व्यक्तिसँग सेयर गर्नुपर्छ । कहिलेकाहीँ एक्लै ट्याक्सी चढ्नुपर्दा ट्याक्सी नम्बर, जाने ठाउँ र कहाँबाट चढेको भन्ने जानकारी आफ निकटका व्यक्तिलाई दिनु राम्रो हुन्छ । यस क्रममा आफू स्वयंले सुरक्षाका उपायहरू अपनाउनुपर्ने हुन्छ त्यसैले आत्मसुरक्षाको कला–सीप सिकिराख्नु फाइदाजनक हुन्छ । पीडकका संवेदनशील अंगहरूमा ठूलो झट्का दिएर आफू उम्कने प्रयास गर्नुपर्छ । आफूलाई सहज हुने खालका पहिरन, जुत्ता, ब्याग बोक्नु उत्तम हुन्छ । महिला सुरक्षाका लागि हरेक व्यक्तिको सोच र व्यवहारमा परिवर्तन ल्याउने खालमा बृहत् अभियान चलाउनु नै यो समस्याको दीर्घकालीन समाधान हो ।

रमा कार्की (मनोविद्)

अहिले देखिएको हिंसामध्ये सबैभन्दा बढी घटना यौन हिंसा कै छ । बलात्कारलगायतका यौनहिंसा जहिले, जुनसुकै र जोसँग पनि घट्न सक्छ, जसको प्रमुख कारण पीडितले प्रतिकार गर्न नसक्नु नै हो । उनलाई लाग्छ कि प्रतिकार गर्दा पीडकको आवेग अझ बढ्छ र सख्त घाइते भइन्छ । यो गल्ती नभएर जघन्य अपराध हो । बलात्कार संसारभर न्यून दर्ता भएको हिंसामा पर्छ । पीडितले न्याय प्राप्तिका लागि किन घटना दर्ता गदैनन् वा कसैलाई भन्दैनन्, यसका पछाडि थुप्रै कारण छन् । प्राय: यौनहिंसा पूर्वतयारीमा हुन्छन् भने कतिपय बदला लिने हिसाबले । आक्रोश, शक्तिको प्रयोग, सामूहिक रमाइलो, मनोविषाद, दिक्दारी, यौन आकर्षण, चरम यौनेच्छा, दुव्र्यसन, युद्ध तथा प्राकृतिक प्रकोप, गरिबी, पीडकको डर, अविश्वास, लाज, कमजोर कानुन, अन्धविश्वास, पीडकलाई संरक्षण दिने प्रवृत्ति आदिका कारण यौनहिंसा बढ्दै गएको पाइन्छ । यसरी बढिरहेको यौनहिंसाविरुद्ध आवाज बाहिर नआउनु वा कम आउनु अहिले संसारमै चुनौतीको विषय भएको छ । युएस डिपार्टमेन्ट अफ लका अनुसार अमेरिकामा प्रत्येक ५ मिनेटको अन्तरमा एउटा बलात्कारको घटना घट्छ । शारीरिक रूपमा बाहिरी चोटपटक नदेखिने हुँदा प्रभावितहरू घटना दर्ता गर्न हिच्किचाउँछन् तर उनीहरू डरलाग्दो मानसिक रोगको भुमरीमा फस्छन् । पीडकको मानसिकता भने थर्काएर, धम्क्याएर पीडितलाई आवाजविहीन बनाउँछु भन्ने नै हुन्छ । घटनाका दोषीको धम्की तथा सामाजिक प्रतिष्ठा अनि हाम्रो संस्कार र मान्यताका कारण पीडितहरू मौन बस्न बाध्य हुन्छन् । बलात्कारीको डिप्रेसन, फ्ल्यासब्याक, आत्महत्या गर्न मन लाग्ने मनोभाव, एन्जाइटीजस्ता मानसिक समस्याका कारण यस्ता घटना बढी घटिरहेको पाइन्छ । यद्यपि मदिरा नै बलात्कारको मुख्य कारण भने होइन, धेरै कारणमध्ये यो एउटा कारण चाहिँ हुनसक्छ । एकपटक घटनामा संलग्न भैसकेपछि बलात्कारीलाई यसको लत लाग्छ र ऊ सिरियल रेपिस्ट बन्नपुग्छन् जसको दिमागमै त्यही कुरा मात्र खेलिरहने र खोजिरहने हुन्छ । प्रेम, विवाह, प्रतिशोध, आदिका कारण पनि यस्ता घटना बढिरहेका छन् । यौनहिंसा घटाउने प्रमुख हतियार भनेको यौनशिक्षा, चेतनामूलक कार्यक्रम तथा कडा सजाय नै हुन् ।

nari.ekantipur

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १७:१७

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

मनोरञ्जन ब्युरो
रोशन पोखरेल

साहित्य तथा सुचना प्रबिधी ब्युरो
राजकुमार ग्याबा तामाङ

संवाददाता
दोर्जे बम्जन
दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,