Breaking News

राजधानीमै बैङ्किङ कसुर र सार्वजनिक अपराध बढे

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार ११:४६

‘मान्छे चलाख भए, त्यसैले बैङ्किङ कसुर बढ्यो’ – प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामा

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा रहेका थुनुवा विवरण हेर्ने हो भने अधिकांश चेक बाउन्स (बैङ्किङ कसुर) मुद्दामा हत्कडी लागेकाहरू छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीको इन्ट्री भएसँगै उपत्यकामा बैङ्किङ  कसुरको मुद्दा ह्वात्तै बढेको हो । महानगरीय प्रहरी कार्यालयमा क्षेत्रीको इन्ट्री मात्रै भने मुद्दा बढ्नुको कारण हैन । तर क्षेत्रीले आफू हाजिर भएको केही दिनमै ‘बाउन्स चेक लिएर आउने सबैको मुद्दा कानुनबमोजिम दर्ता गरेर अभियुक्त पक्रा गर्नुपर्ने’ सर्कुलर जारी गरेका थिए ।

डीआईजी थापाले त्यस्तो सर्कुलर गर्नुअघि प्रहरीले पीडित र पीडकलाई छलफलको मौका दिने गरेको थियो । तर अहिले पीडितले ‘हामी मिल्छौँ’ भन्दा र पीडकले ‘चेकमा उल्लेखित पैसा पीडितलाई भराउँछु’ भन्दा पनि प्रहरीले चुपचाप हत्कडीको चाबी लगाउन थालेको छ ।

रातोपाटीलाई प्राप्त पछिल्लो तीन महिना (असोज–मङ्सिर)मा उपत्यकामा भएका अपराधको तथ्याङ्क विश्लेषण गर्दा काठमाडौँ जिल्लामा मात्र २ सय ३४ थान बैङ्किङ कसुरको मुद्दा दर्ता भएको देखिन्छ ।

भक्तपुरमा १६ वटा बैङ्किङ कसुरका अभियुक्तलाई हत्कडी लगाएको प्रहरीले ललितपुरमा ३९ थान बैङ्किङ कसुरको मुद्दा दर्ता गरेर  अभियुक्तलाई कानुनी दायरमा ल्याएको देखिन्छ ।

बैङ्किङ कसुरपछि काठमाडौँ उपत्यकामा रहेका प्रहरी युनिटहरूमा धेरै सङ्ख्यामा दर्ता हुने गरेको दोस्रो अपराध हो, सार्वजनिक मुद्दा । प्रहरीले बोलीचालीको भाषामा ‘सार्वजनिक मुद्दा’ भन्ने गरे पनि  ‘मुलुकी अपराध संहिता ऐन– २०७४’ को दफा १०४ देखि १२८ सम्म उक्त मुद्दालाई ‘सार्वजनिक हित तथा सुरक्षा र नैतिकताविरुद्धको कसुर’ भनेर व्याख्या गरिएको छ ।

पछिल्लो तीन महिनामा काठमाडौँ जिल्लाका प्रहरी युनिटहरूले ४ सय चारवटा ‘सार्वजनिक हित तथा सुरक्षा र नैतिकताविरुद्धको कसुर’ मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले अन्य मुद्दामा अनुसन्धान गर्नुपरेमा पनि कतिपय मानिसहरूलाई सार्वजनिक अपराध मुद्दा झुण्ड्याउने गरेको छ । गएको महिना केन्द्रीय अनुसन्धान ब्युरोले कञ्चनपुरका प्रदीप रावललाई निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्दै थियो ।

तर रावल महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा सार्वजनिक अपराध मुद्दामा थुनिएका थिए, महाराजगञ्ज प्रहरीले उनलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट म्याद लिँदै थुन्दै गरेको थियो ।

पहुँचवालाको आग्रह र प्रहरीका उच्च तहका हाकिमहरूको आदेशमा कतिपय अवस्थामा सार्वजनिक मुद्दाको परिभाषा दुरुपयोगसमेत हुने गरेको छ । प्रहरीका इन्चार्जहरूको इन्ट्रेस्टमा घरायसी झगडामा संलग्नहरू पनि ‘ड्युटीमा रहेका प्रहरीलाई दुव्र्यवहार गरेको’ अभियोगमा सार्वजनिक अपराध मुद्दा झेल्न बाध्य भएका उदाहरण प्रशस्त छन् । यस्तो क्रियाकलाप प्रहरीको पुरानै शैली हो, जुन ओपन सेक्रेट छ ।
हामीले काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै हुने गरेका अपराधका घटनालाई यहाँ प्रस्तुत गरेका छौँ । पछिल्लो तीन महिना अर्थात असोज–देखि मङ्सिरको घटना विश्लेषण गर्दा लागूऔषध र जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगको घटना पनि क्रमशः बढ्दै गएको देखिन्छ ।

 

 

‘मान्छे चलाख भए, त्यसैले बैङ्किङ कसुर बढ्यो’ 

बसन्त लामा, प्रहरी बरिष्ठ उपरीक्षक

चार महिनाअघि काठमाडौं प्रहरी प्रमुखको कमान्ड सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामा उपत्यकामा सबैभन्दा धेरै अपराध हुने काठमाडौँमा पैसासँग सम्बन्धित अपराध धेरै हुने गरेको बताउँछन् । काठमाडौँमा अपराधको ट्रेन्ड, अपराधमा संलग्न मानिसहरू र नियन्त्रणमा उपायबारे एसएसपी लामासँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंको विचारमा उपत्यकामा सबैभन्दा बढी कस्ता घटनाहरू हुन्छन् र ती घटनाहरू बढी हुनुको कारण के होलान् ?
काठमाडौँ जिल्लामा अहिले अपराधको विश्लेषण गर्दा आर्थिक अपराधहरू बढी भएको देखिएको छ । ठगी, बैङ्किङ कसुरका अपराध, जो अर्थसँग सम्बन्धित छन्, त्यस्ता घटनाहरू बढी भएको देखिन्छ । त्यसबाहेक लागूऔषधका केसहरू, महिला हिंसाका घटनाहरू पनि हामीकहाँ अहिले बढी आउने गरेका छन् ।

तपाईंको अनुभवमा त्यस्ता अपराधका घटनाहरू बढोत्तरी हुनुमा मुख्य जिम्मेवारी कसको हो ? जस्तो भनौँ न बैङ्किङ कसुरका घटना अत्यधिक बढ्नुको कारण ? 

प्रहरीकोमा बैङ्किङ कसुरका घटना अत्यधिक आउनुका कारण के भने, जसले लगानी गर्छन् उनीहरू अत्यन्तै चलाख भएका छन् । उनीहरूलाई के थाहा छ, भने प्रहरीमा केस गयो भने त्यो समस्या समाधान हुन्छ । यो प्रहरी प्रतिको विश्वास पनि हो ।

तपाईंले कसैलाई चेक दिनुभयो, चेक बमोजिमको पैसा खातमा भएन भने त्यो बैङ्किङ कसुर भयो । बैङ्किङ कसुर व्यक्तिवादी कसुरअन्तर्गत सीधै अदालतमा पनि जान्छन् । तर अहिले सबै केस प्रहरीकोमा आएको छ । हामीलाई पनि बैङ्किङ कसुरमा अनुसन्धान र कारवाही चलाउने अधिकार भएको हुनाले प्रहरीले हेर्छ भन्ने हिसाबले पनि बैङ्किङ कसुरका मुद्दा धेरै आएका छन् ।

अर्को के भने, मान्छेले सहयोग र ब्याजको रूपमा लगानी गरेको पैसा फिर्ता पाउने मितिको चेक काटेर पहिले नै लिन थालेका छन् । किनकि उसलाई थाहा छ, भोलि बैङ्कमा पैसा नभए बाउन्स गरेर प्रहरीकोमा जान सकिन्छ । त्यसैले अहिले बैङ्किङ कसुरको अपराध र ठगीका घटना बढी आइरहेका छन् ।

लागूऔषध, बैङ्किङ कसुर र महिला हिंसाका घटना बढ्नुमा मुख्य जिम्मेवार को हो ? 

मान्छेले बुझ्न सकेका छैनन् । बैङ्किङ कसुर बढ्नुमा एउटा त ठग्ने प्रवृत्ति नै हो, पैसा लिने अनि नदिने प्रवृत्ति देखिएको छ । अर्को दिने मान्छे चलाख भएर पहिले नै चेक बाउन्स प्रहरीले हेर्छ भनेर चेक काटन लगाउने प्रवृत्तिले बढेको छ । यसलाई घटाउने हो भने मान्छेहरू सचेत हुनुपर्छ ।

आफूले सक्ने किसिमको पैसा मात्र लिने र समयमा फिर्ता गर्ने गरेमा बैङ्किङ कसुरको अपराध घट्दै जान्छ ।

लागूऔषध नियन्त्रण गर्न अहिले हामी विशेष योजनासहित लागिपरेका छौँ । ओसार पसार गर्ने, उत्पादन गर्ने र बेचबिखन गर्नेहरूलाई हामीले सूक्ष्म निगरानी गरेर कारवाही अगाडि बढाइरहेका छौँ । चेकजाँच गर्ने पक्राउ गर्नेबाहेक हामीले सचेतनामूलक काम गरिरहेका छौँ ।

स्कुलका विद्यार्थीहरूलाई लागू औषध बारे शिक्षा दिइरहेका छौँ ।

महिला हिंसा रोक्ने हो भने महिलाहरू सचेत हुन आवश्यक छ । आजभोलि लामो समय सँगसँगै बसेर असन्तुष्टि बढेपछि हिंसा भयो भन्दै आउने गरेका उदाहरण धेरै छन् ।

तपाईंको भोगाइमा कस्ता कस्ता अपराधहरूमा कस्ता खालमा उमेरसमूह, वर्ग र मनोवृत्तिका मानिसहरूको बढी संलग्नता देखिएका छन् र त्यसो हुनुको खास कारण के हुन सक्छ ?
संलग्नता हेर्ने हो भने अहिले युवा वर्गहरू नै छन् । युवामा जोस, जाँगर र आकाङ्क्षा छ । नयाँ कुरा प्रयोग गर्ने बानी र अपूmले प्राप्त गरेको सीप, ज्ञानअनुसार रोजगारी सिर्जना नभएपछि उसमा नैराश्यता सिर्जना भयो । उनीहरू सक्षम छन् तर रोजगारी छैन । त्यस्तो अवस्थामा आर्थिक अभावको कारण कारण युवावर्ग अपराधमा संलग्न भएको देखिन्छ ।

युवाहरू अहिले बढीभन्दा बढी मादक पदार्थ सेवन गर्छन् । काठमाडौंमा हुने ७५ प्रतिशत अपराध मादक पदार्थ सेवनकै कारण हुने गरेको छ ।

अहिले फेसनको जमाना छ, देखासिकी गर्नका लागि ठूला होटल, राम्रो गाडी–मोटरसाइकल चढ्ने होड युवा वर्गमा चलेको छ ।  त्यसका लागि चाहिने आर्थिक पक्षको पूर्ति गर्नका लागि युवा वर्गहरू बढीभन्दा बढी अपराधमा संलग्न हुने गरेको देखिन्छ ।

अहिलेसम्म तपाईंले भोग्नुभएको आफैलाई भित्रदेखि नै कहाली लाग्ने खालका कुनै आपराधिक घटनाको सङ्क्षिप्त विवरण दिनुहोस् न ।

अन्यहरू त थुप्रै छन् । तर काठमाडौँमा आएपछि मलाई नराम्रो लागेको घटना भनेको, गोंगबु क्षेत्रमा एकजना बच्चालाई लिएर गई कुनै रिसराग, पैसाको लागि पनि हैन क्षणिक आवेगमा जसरी हत्या गरियो, त्यो एकदम दुःखदायी घटना लागेको छ । त्यो नहुनुपर्ने थियो, त्यसले मलाई दुःख पुर्याएको छ ।

त्यसैगरी, तपाईंले भोग्नुभएको सबैभन्दा अनौठो, हाँसो लाग्दो खालका आपराधिक घटनाबारेको अनुभव ?

मैले नक्कली सुनको सम्बन्धमा मैले केही अपरेसनहरू गरेँ । मलाई अचम्म लाग्छ क्या, सुन किन्नु छ भनेर पैसा लिएर आउँछन् । अनि, उसलाई कस्तो ठाउँमा लान्छन् भने सुनसान ठाउँमा लान्छन् । पैसा तिरेर सुन किन्ने मान्छे लाखौँ लिएर एक्लै आउँछ, सुन दिने समूहले एकान्तमा जाऔँ भन्छन् अनि लुटिँदैन ?

ती घटना चाहिँ हामीलाई अनौठो लाग्छ । म सोच्छु ती सुन किन्न जाने मान्छेहरू कति मूर्ख ?  एकान्तमा गएर सुन किन्न खोजेपछि लुटिँदैनन् ?

अर्को कुरा, त्यस्तै नक्कली डलरको पनि छ । ‘मसँग डलर छ, सस्तोमा दिन्छु’ भनेर भन्छन्, अनि त्यो डलर प्राप्तिका  लागि लाखौँ लिएर एकान्त ठाउँ, जङ्गलको छेउतिर जान्छन् । यसरी जानाजानी पैसा  भएर बुद्धि नभएकाहरूले आफै अपराध निम्त्याएको जस्तो लाग्छ ।

अपराधका घटना न्यूनीकरण गर्नका लागि तपाईंको सल्लाह र सुझाव ?

अपराध न्यूनीकरण गर्न राज्यको जिम्मेवार निकाय भनेको प्रहरी हो, नेपाल प्रहरी त्यसमा लागि नै रहेको छ । तर के हो भने प्रहरीको एक्लो प्रयासले मात्र वास्तवमा अपराध न्यूनीकरण गर्न नसकिने रहेछ ।
त्यसकारण अपराध न्यूनीकरण गर्नका लागि अपराध कसमाथि हुन्छ, कसले गर्छ र कुन ठाउँमा हुन्छ भन्ने कुराहरूलाई प्रहरीले महशुस गरेको छ । अपराध समाजमा हुन्छ, अपराधी समाजमा बस्छन्, अपराध पीडित नागरिक पनि समाजमै हुन्छन् ।

त्यसकारण नागरिकको महत्त्वलाई बुझेर अगाडि बढेमा मात्र अपराध न्यूनीकरण गर्न सकिन्छ भन्ने अहिले नेपाल प्रहरीले बुझेको छ । त्यसैले अहिले भर्खर मात्रै नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याएको छ । अब सबै नागरिक जिम्मेवार रूपमा अगाडि बढेर, ‘म सुरक्षित कसरी हुने’ र समाज सुरक्षित कसरी बनाउने भन्नेबारे प्रहरीसँग सहकार्यक गर्दै अगाडि बढेमा अपराध न्यूनीकरण हुँदै जान्छ ।

‘राजनीतिक हस्तक्षेप नरोके प्रहरीले काम गर्न सक्दैनँ, अनि अपराध बढ्छ’ 

माधव आचार्य, अपराधविद् 

अपराधविद्को आँखाबाट हेर्दा अपराध बढ्ने र घट्ने प्रकरण राजनीतिसँग जोडिन्छ । कतिपय अवस्थामा ठूला अपराधीहरूलाई समेत राजनीतिक संरक्षण हुँदा अपराधका घटना एकपछि अर्कोगरी दोहोरिएका उदाहरण प्रशस्तै छन् ।

अपराधीलाई राजनीतिक संरक्षण नहुने र प्रहरी सङ्गठनमाथि राजनीतिक हस्तक्षेप नहुने हो भने अपराध न्यूनीकरण गर्न प्रहरी सक्षम रहेको बताउँछन् अपराधविद् माधव आचार्य । आचार्यसँग अपराध बढ्नुको कारण र न्युनीकरणका उपायबारे गरिएको कुराकानीको सम्पादित अंश :

समाजमा अपराध किन हुन्छ ?
समाजमा अपराध हुने एउटै कारण छैन्, त्यसको पछाडि धेरै लामो पृष्ठभूमि हुन्छ । तुरुन्तै अहिले जे समस्या देखियो त्यही कारणले अपराध भएको हुँदैन् । त्यसको पृष्ठभूमि हुन्छ, तत्काल रूपबाट भन्नुपर्दा प्रहरी उपस्थिति फितले हुँदा र कानुनको क्रियान्वयन ठीकसँग नहुँदा अपराध भएको देखिन्छ । रियालिटी पनि त्यही हो ।

तत्कालीन कारण हेर्दा सुरक्षा अधिकारीहरूको कमजोर उपस्थिति भएको ठाउँमा नै अपराध हुने गरेको छ ।

अनि पृष्ठभूमिको कुरा चाहिँ सामाजिक संरचना कस्तो छ, कुन ब्याग्राउन्डबाट विकास भएको छ भन्ने कुरामा भर पर्छ । अहिले नेपालको परिवेशमा धमाधम अपराध बढिराखेको छ । अपराधीहरूको मनोबल पनि बढेको देखिन्छ भनेर प्रश्न उठ्ने गरेको छ ।

त्यसको पछाडिको कारण विश्लेषण गर्दा हामीले लामो समय पार गरेको द्वन्द्व अनि लामो समयको अस्थिरता, प्रजातन्त्रको नाममा आएको उच्छृङ्खलता, धर्म र संस्कृतिप्रतिको अनास्था जस्ता कुराहरू जोडिन्छन् ।

हाम्रो भइराखेको सङ्गठित समाज लामो द्वन्द्वले अस्तव्यस्त बन्न पुग्यो । त्यसैले गर्दा जनतामा एक प्रकारको महत्त्वकाङ्क्षा बढ्यो । पुरानो मूल्य मान्यताभन्दा बाहिर आएर छाडापन देखाउन स्थिति भयो ।  लामो सयमको राजनीतिक सङ्क्रमणकालको कारण ‘ल एन्ड अर्डर’ मेन्टेन हुन सकेन । त्यसैले गर्दा पनि अवसर पाएमा अपराध गर्नेहरूलाई राम्रो ब्यग्राउन्ड बन्न पुग्यो ।

अर्को कुरा, अपराधमा लागेकाहरू अपराध गरेपछि प्रहरीको नजरबाट बच्न राजनीतिक संरक्षण लिन खोजे । राजनीतिक पार्टीहरूले सुझबुझ नै नगरी जोसुकै भए पनि एउटा भोट आउँछ भन्ने हिसाबले मात्र हेर्न थाले । असल मान्छे मात्र राजनीतिमा छिराउनुपर्छ भन्ने कुरा पार्टीहरूले मनन  नगर्दा अपराधीहरूले पनि राजनीतिक संरक्षण पाए । त्यसले गर्दा अपराध गर्नेहरूलाई मलजल पुग्यो ।

कसुरदार, नराम्रो प्रवृत्ति भएका मान्छे जब राजनीतिक आडमा खुलेआम हिँड्छन् अनि समाजले प्रहरी र राज्यमाथि विश्वास गर्न छाड्छ ।

हाम्रो धर्म संस्कृतिमा पनि ह्रास आएको छ । अहिले आस, त्रास र लोभले गर्दा गाउँ–गाउँमा धर्म परिवर्तनको लहर नै चलेको छ । पुरानो सांस्कृतिक अस्था छाडेपछि मान्छेमा अलिकति छाडापन आउँछ, त्यसरकाण धार्मिक आस्थामा पनि विचलन भएको देखिन्छ ।

कानुन कार्यान्वयन गर्ने मुख्य निकाय प्रहरी हो । प्रहरीमाथि राजनीतिक हस्तक्षेप भयो भने प्रहरीले उच्च मनोबलको साथ काम गर्न सक्दैन । २४ घण्टा ड्युटीमा बस्ने प्रहरीमा उच्च मनोबल हुनुपर्छ तर हस्तक्षेप भए पनि काम गरेजस्तो गरेर चुप लागेर बस्ने स्थिति आउँछ ।

प्रहरीलाई स्वतन्त्र भएर काम गर्ने वातावरण सकारकाले बनाउनुपर्छ, अहिले त्यो नभएको स्थिति हो । यहाँ कुनै नेतालाई रिझायो भने मेरो प्रोमोसन हुन्छ, राम्रो ठाउँमा सरुवा हुन्छु भन्ने धारणा बन्यो भने उसले किन कर्तव्यनिष्ठ भएर काम गर्छ ? अनि समाजमा अपराध हुन्छ ।

आपराधिक मनोवृत्ति मानिसमा किन जागृत हुन्छन् ? त्यस्ता मनोवृत्तिका कारक तत्वहरू के–के हुन् ?
प्रहरी छल्न सकौँला भन्ने नै अपराधीको मनोवृत्ति हो । अपराधीहरूले सजाय हुने कुरा थाहा हुँदाहुँदै पनि ‘प्रहरी छल्न सक्छु’ भनेर अपराध गरेको जवाफ दिएका छन् ।

प्रहरीलाई छल्न सक्ने आधार भएको ठाउँमा नै अपराध हुन्छ । त्यसैले अपराध नियन्त्रण गर्न प्रहरी छल्न नसक्ने वातावरण बनाउनुपर्छ । त्यसको निमित्त अहिलेको आधुनिक समाजमा सीसी क्यामेराको ब्यापक रूपमा प्रयोग गरिनुपर्छ, जसकारण अपराधी उम्कन सक्दैन् । ऊ जेलको भागिदार हुन्छ ।

प्रहरीको गस्ती बढाएर सिभिल प्रहरी परिचालन र सुराँकी परिचालन गरेर पनि अपराधीलाई कानुनी दायरामा ल्याउँदा अपराधीको मनोबल घट्दै जान्छ । अनि हाम्रोमा अपराध भएको कुरा मात्र बाहिर आउँछ, जेल परेको अथवा  कारवाही भएको कुराको प्रचार हुन सकेको छैन् । अदालतले दण्ड–जरिवाना गरेको कुरा पनि प्रचार हुनु जरुरी छ ।

‘ल एन्ड अर्डर’लाई चुस्त बनाउन अपराधीलाई कुनै पनि राजनीतिक संरक्षण हुनु हुँदैन । राजनीति पवित्र बन्नुको साटो शोषण गर्ने र पावर एक्सरसाइज गर्ने माध्यम बनेपछि त्यसले क्रिमिनल क्यारेक्टरलाई जन्म दिन्छ ।

अपराध विज्ञानले अपराधलाई कसरी वर्गीकरण गरेको छ ? त्यसरी वर्गीकरण गर्दा आधार केलाई मानिएको वा लिइएको हुन्छ ?
वर्गीकरणको हकमा मोटामोटी भन्नुपर्दा मनोवैज्ञानिक रूपले मनोभावना बिग्रिएर पनि अपराध हुन्छ । जस्तो, अब सन्काहा प्रवृत्तिका मान्छेले अपराध गर्दा, कानुन मिच्दा त्यो मनोविज्ञानसँग सम्बन्धित भएर आउने हुन्छ । न्यूनतम मानवीय आवश्यकता भनौँ न, रोजी–रोटी खान बस्न समस्या भएको स्थितिमा  आर्थिक अपराध हुन्छ ।
शारीरिक रूपबाट दम्भमा रहेका मान्छेबाट (बायोलोजिकल कारण) पनि अपराध भएको हुन्छ । अर्को चाहिँ, सामाजिक संरचना पनि अपराध जन्माउन आधार बन्छ । आवेशमा गरिने अपराध र यौनसम्बन्धी अपराध चाहिँ बायोलोजिकल हुन्छ ।

कतिपय घटनाक्रमहरूमा अपराधी तुरुन्त पक्राउ पर्छन् भने कतिपयमा चाहिँ पक्राउ पर्न वर्षौं लाग्ने वा पत्ता नै नलाग्ने पनि हुने गरेको पाइन्छ । यस्तो किन हुन्छ ?
कहिल्यै पक्राउ नपर्ने पनि हुन्छ । हाम्रो देशमा मात्र हैन्, अत्यन्त विकसित मुलुकमा पनि त्यस्तो भएको पाइन्छ । अपराधी भएजत्ति सबै पत्ता लाग्छन् भन्ने कुरा हैन, कोही पत्ता लाग्छन्, कोही लाग्दैनन् ।
तर के भने कतिसम्म प्रहरी त्यो क्षेत्रमा निगरानीपूर्वक दत्तचित्त भएर लागेको छ भन्ने कुराको आधार हो । जति प्रहरी दत्तचित्त र कर्तव्यनिष्ट हुन्छ, अपराधी पत्ता लगाउन गाह्रो हुँदैन । किनभने प्रत्येक व्यक्तिको बोल्ने, काम गर्ने, हिँड्ने शैली हुन्छ । त्यस्तै अपराधीको पनि अपराध गर्ने शैली हुन्छ । प्रहरीले अपराधीको शैली हेरेरै थाहा पाउँछ । त्यसपछि प्रहरीले त्यसमाथि निगरानी राखेको हुन्छ । कुनै अपराध गरेको बखत उसलाई प्रहरीले पक्राउ गर्न सक्छ । त्यसका लागि प्रहरीले स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण पाउनुपर्छ ।

जहाँ जहाँ बढी अपराध हुन्छ, त्यस्तो ठाउँमा सीसीक्यामेरासहितको निगरानी गर्न सकेमा अपराधी पत्ता लगाउन सहज र छिटो पनि हुन्छ ।

पछिल्लो चरणमा निर्मला हत्याकाण्ड अति चर्चित छ । अपराधी पत्ता लागेको छैन ? तपाईंको हेराइमा गल्ती, कमी कमजोरीहरू कहाँ भइरहेको छ ?
रक्षक नै भक्षक भएजस्तो, अनुसन्धानकर्ता नै प्रमाण लुकाउन लाग्ने, कसैलाई उम्काउन लाग्ने गरी हिसाब–किताब मिलाएर नै त्यो कसुर भएको जस्तो देखिन्छ । त्यसैले, जसले त्यो अपराध लुकाउने काम गरेको छ, त्यो पनि अपराधको मतियार हो । त्यसकारण अपराध लुकाउनेहरूलाई पनि पक्राउ गरेर उनीहरूबाट लिनसक्ने सूचना लिने र कारवाही गर्नुपर्छ । मूल कर्तालाई पक्राउ नगरेर मतियारलाई मात्र पक्राउ गरियो भन्ने कुरा उठ्छ भनेर प्रमाण नष्ट गर्नेहरूलाई पक्राउ गर्न प्रहरी डराएको हो ? त्यो लुगा धुने प्रहरी पनि मतियार हो, कुरा फेरेर बारम्बार ढाँट्नेहरू सबै मतियार हुन् ।

डीएनए परीक्षण गर्दा पनि त्रुटि देखिन्छ । किनभने प्रहरी नै प्रमाण लुकाउन लागेको कुरा उठिरहेको बेला उनीहरूकै ल्याबमा परीक्षण गर्नु राम्रो होइन् । प्रहरी–प्रहरीका बीचमा कुरा भएर ‘मलाई पार्लास् नि’ भनेको पनि हुनसक्छ । डीएनए परीक्षण गर्दा रोनास्ट अथवा कुनै इन्डिपेन्डेन्ट ल्याबमा पठाउनुपथ्र्यो ।

Source by ratopati/

राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । 

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार ११:४६

सामाजिक संजाल

Our Team

प्रकाशक/सम्पादक – विवेक लोप्चन

प्रधान सम्पादक – इकमान लामा (इमाला)

कार्यकारी सम्पादक- मनु तामाङ 

ब्यबस्थापक /कार्यक्रम प्रस्तोता – मोहन दोङ (एम. डि) लामा

कानूनी सल्लाहकार – हरिराम पौडेल

सल्लाहकार -बिनय जङग बस्नेत

पाल्साङ  लोप्चन

 

Our Team

संवाददाता

युनिशा वाइबा,काठमाण्डौ

दोर्जे बम्जन

दाने बोहरा (हुम्ला)
Email: [email protected]

 

Contact: 9823394647, 9849878184,